‘अञ्जिला दिदीको सङ्घर्षले हामीलाई प्रेरणा दिएको छ’ : खेलाडी राई

फिल्म । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राईले नेपाली चलचित्र ‘अञ्जिला’ मा देखाइएको कथा धेरै दिदीबहिनीको भएको बताएकी छिन । बिहिबार साँझ काठमाडौंस्थित कमलपोखरीमा रहेको एक चलचित्र भवनमा आफ्नो परिवारसहित नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा निर्माण भएको चलचित्र ‘अञ्जिला’ हेरेपछि खेलाडी राईले सुनिरहेको कथालाई चलचित्र हेर्दा भावुक भएको प्रतिक्रिया दिइन ।

‘अञ्जिला दिदीले धेरै सङ्घर्ष गर्नुभएको छ । महिलाले फुटवल खेल्न हुदैन भन्ने सोचलाई भत्काएर इलामदेखि यहाँसम्म आएर हाम्रो कप्तान बन्नु सानो आट र हिम्मतको कुरा होइन । उहाँसहित हाम्रो अग्रज महिला खेलाडीले आट गरेर समाजलाई प्रमाणित भएर नदेखाउनु भएको भए हामी जस्ता नयाँ खेलाडीले यहाँसम्म आउने सोच बनाउन सक्दैन थियौँ जस्तो लाग्छ । एक प्रकारलाई हामीलाई प्रेरणा दिने काम हाम्रो अग्रज महिला खेलाडीले गर्नुभएको छ’, प्रीतिले भनिन् ।

चलचित्र हेरिरहदा कप्तान सुब्बाको सङघर्ष, उहाँको आमाले दिनुभएको साथका दृश्यमा आफू भावुक भएको प्रीतिले बताइन । उनले चलचित्रमा देखाएइको र हाम्रो कप्तान अञ्जिला दिदीले भोग्नुभएको महिला भएर समाजबाट निस्किएर सफलता पाउन गरेको सङ्घर्षले सबैलाई प्रेरणा दिनेमा जोड दिईन् ।

‘अञ्जिला दिदीको भोगाईले धेरैलाई जीवनमा अगाडि बढ्न प्रेरित गर्छ । किनकि उहाँसँग दृढ सङकल्प बाहेक के नै थियो र ? इमान्दारिताका साथ लक्ष्य प्राप्त गर्न र निरन्तर मेहनत गर्न चलचित्रले प्रेरणा दिएको छ’, प्रीतिले भनिन् ।

उनले अन्य खेलाडीका विषयलाई पनि चलचित्रमा ल्याउनका लागि ‘अञ्जिला’ व्यावसायिक रुपमा समेत सफल हुनुपर्ने भएकाले चलचित्र मन परेका दर्शकलाई सामाजिक सञ्जालमार्फत प्रचार गर्न आग्रह समेत गरिन् ।

कप्तान सुब्बाका धर्मपिता प्रेमकुमार श्रेष्ठले निर्माण गरेको चलचित्र ‘अञ्जिला’ लाई मिलन चाम्सले निर्देशन गरेका चाहन । निर्देशक चाम्सले कप्तान सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको बताए ।

‘खेलकुदमा आधारित रही चलचित्र बनाउन नेपाली स्रोत र साधनले भ्याएसम्म प्रयास गरेका छौँ । सुब्बाको जीवनको महत्त्वपूर्ण हिस्सालाई चलचित्रमा समावेश गरेका छौँ । सुरुआती दिनमा हामीलाई दर्शकले दिनुभएको प्रतिक्रिया निकै सकारात्मक छ, दर्शकले राम्रो साथ दिनुभएको छ’, उनले भने ।

चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङ्कन गर्नुभएको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्र गत फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन भइरहेको छ ।

कमेन्ट गर्नुहोस्