‘वरिष्ठ बलराम’ मुहूर्तसँगै छायांकनमा

फिल्म । फिल्म ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो । निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु भएको छ । लक्ष्मीपूजाका दिन कात्तिक ३ गते रिलिज हुने फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।

दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय रहनेछ । ‘वरिष्ठ बलराम’ नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय फिल्म हो । आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्ममा महेश दवाडीको लेखन रहने छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायाँकन चितवन र हेटौडाका विभिन्न जिल्लामा गरिनेछ । यसका डिओपी मानकृष्ण महर्जन रहेका छन् । फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्धन्द निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ ।

‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा हुनेछ । फिल्मलाई काठामाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्ने भएका छन् ।

कमेन्ट गर्नुहोस्