फिल्म । आज ठमेलमा रहेको त्रिदेवी मन्दिरमा नेपाली फिल्म ‘हर्ष’ को पूजा तथा मुहुर्त गरिएको छ । डेब्यु निर्देशक एकता पौडेलले फिल्म पारिवारिक कथामा तयार हुने बताइन । ‘आफूले पढेको र सिकेको अनुभवलाई प्रयोग गरेर निर्देशन गर्दैछु । मैले तयार गरेको पटकथालाई पूर्ण रुपमा पर्दामा ल्याउन कोसिस गर्ने छु’, निर्देशक पौडेलले भनिन् ।
उनले फिल्मको आउँदो फागुन १७ देखि चितवनबाट छायांकन सुरू हुने बताइन । यसमा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन लगायतका कलाकारको अभिनय रहेनछ । न्यूयोर्क फिल्म एकेडेमीबाट चलचित्र सम्बन्धी अध्यन गरेर फिल्म निर्देशन सुरु गर्न लागेकी पौडेलले ३५ दिनको तालिका बनाएर छायांकन सुरू गरिने जानकारी दिईन ।
निर्देशक पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन । आमसंचारमा स्नातक गरेकी निर्देशक पौडेलले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । केही छोटा फिल्महरू निर्देशन गरेकी पौडेलको यो डेब्यु फिल्म हो ।
फिल्ममा आलोक शुक्लाको छायंकन, वसन्त सापकोटा तथा एलिश कार्कीको सङ्गीत, लोकेश बज्राचार्यको सम्पादन, सुनिल क्षेत्रीले कोरियोग्राफी रहनेछ ।कुलदिप शर्मा मुख्य सहायक निर्देशक तथा ईश्वर घिमिरे निर्माण नियन्त्रक रहेको फिल्ममा ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्नेछ । प्रशन्न पौडेल र विकास पौडेल (चितवन) फिल्मका निर्माता हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन्।










