आइतबारदेखि छायांकनमा जाँदै ‘डोरी’

फिल्म । नेपाली फिल्म ‘डोरी’को शुभ मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै मुहुर्त गरिएको फिल्मको छायांकन आइतबारदेखि गरिने निर्माण पक्षले जानकारी दिएका छन् ।

अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, र नूतनलगायतका कलाकारहरूको अभिनय रहने फिल्ममा निर्देशक अरुण लामा, कार्यकारी निर्माता राज थापा, छायाकार सौरभ लामा, र सङ्गीतकार राजनराज सिवाकोटी लगायत छन् ।

निर्देशक लामाले नामको गहिराइ र अर्थबारे व्याख्या गरे । उनले भने,‘डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्छ । यसका पात्रहरू आ-आफ्ना तरिकाले बाँधिएका छन् । कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले, र कोही मायाको डोरीले । चलचित्रको अङ्ग्रेजी शीर्षक ‘DORII’ को फुलफर्म ‘Discovery Of Realism In Inquisitiveness’ हो । यसले वास्तविकताको खोज र रहस्यलाई उजागर गर्दछ ।’

लामाका अनुसार, ‘डोरी’ले सामाजिक यथार्थ र समकालीन सन्दर्भलाई कथा मार्फत जीवन्त बनाउनेछ । अभिनेत्री अञ्जना बराइलीले नयाँ टिमसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएकी छिन् । उनले भनिन्,‘नयाँ प्रोजेक्टमा काम गर्न पाउँदा सधैँ रमाइलो लाग्छ । यो फिल्ममा नयाँ आइडिया छ र यसले दर्शकलाई नयाँ अनुभूति दिनेछ । मुहूर्तपछि ऊर्जा र उत्साहले भरिएकी छु, र यो चलचित्र सफल हुनेमा विश्वस्त छु ।’

अभिनेता प्रवीण खतिवडाले ‘डोरी’लाई विभिन्न श्रेणीको मिश्रण रहेको फिल्मका रूपमा परिभाषित गरे । ‘यसमा रहस्यमय कथा, सामाजिक यथार्थवाद, र ‘सस्पेन्स क्राइम’को संयोजन गरिएको छ । यी तीन वटाको रोचक मिश्रणले दर्शकलाई मनोरञ्जन दिनेछ भन्ने विश्वास छ’, उनले भने ।

फिल्मको लेखन निर्देशक लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यसका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । यसमा सङ्गीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ ।

कमेन्ट गर्नुहोस्