विजयले सुरू गरे ‘लाज शरणम्’ को छायांकन

फिल्म । अभिनेता विजय बराल ‘लाज शरणम्’ को छायांकनमा जोडिएका छन् । ‘पूर्णबहादुरको सारङ्गी’ ब्लकबष्टर भएपछि अहिले चर्चाको शिखरमा रहेका अभिनेता बरालले छायांकनको दोश्रो सेड्यूल ज्वाईन् गरेका हुन् । मंगलबारबाट बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु गरेका हुन् ।

दशैं अघि डोल्पा सुटिङ सकेको सिनेमाले काठमाडौं तालिका केहि दिन अगाडिबाट सुरु गरेको हो । हालसम्म फिल्मको ९५ प्रतिशत छायांकन सकिएको जानकारी निर्माणपक्षले दिएको छ । यसको निर्माण टिमले छायांकनमा निस्कनु अगावै फागुन १४ गते महाशिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको थियो ।

फिल्ममा अभिनेता बरालसँगै मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई सुदिप बरालले छायांकन गरिरहेका छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । यसमा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रुपमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्