देश । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यसवर्ष भित्रमा नयाँ चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन ल्याउने बताएकाछन् । चाबहिलमा रहेको चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा मन्त्री गुरुङले चलचित्र ऐन, २०२६ मै चलचित्रका गतिविधि भइरहेको हुँदा अहिलेको समयानुकुल बनाउन नयाँ ऐनको आवश्यकता सरकारले राम्रोसँग बुझेको बताए ।
‘मैले चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई अगाडि बढाईसकेको छु । प्रक्रियागत रुपमा अगाडि बढेर यसैवर्ष भित्र त्यसलाई संसदबाट पास गर्ने मेरो अठोट छ । यो क्षेत्रले कला र संस्कृतिलाई अगाडि ल्याउन खेलेको भूमिकाको जति चर्चा गरेपनि कम हुन्छ’, मन्त्री गुरुङले भने । उनले सरकार र मन्त्रालय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सधै तत्पर रहेकोमा स्पष्ट हुन् समेत आग्रह गरे ।
‘चलचित्र विकास कम्पनीमा स्टुडियो बनाउने, बक्सअफिसलाई चुस्त बनाएर चलचित्रकर्मीलाई प्रोत्साहन गर्दै यसक्षेत्रलाई विकास गर्न सरकारले कुनै कसर बाँकि राख्दैन’, उनले भने ।








