फिल्म । आउँदो शुक्रबार कात्तिक ३० गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’ को शोसँगै टिकेट बिक्री खुल्ला गरिएको छ । केही थियटरले मङ्गलवार र केहीले बुधवारदेखि फिल्मको टिकेट अग्रिम रुपमा बुकिङ गर्न मिल्ने वा खरिद गर्न मिल्ने व्यवसथा गरेका हुन् । अभिनेत्री नीता ढुंगाना अभिनित तथा निर्मित फिल्म ‘ह्रस्व दीर्घ’ को सार्वजनिक ट्रेलरलाई दर्शकले रूचाएपछि प्रदर्शकले पनि उच्च अपेक्षासहित शो दिएका छन् ।
नेपाली र भारतीय कलाकारको अभिनय रहेको फिल्मको उच्च मेकिङ र पावरफुल स्टारकास्ट भएका कारण यो दर्शकको पर्खाइमा छ । हरि (हरिहर अधिकारी) र नारायणी (नीता ढुङ्गाना) को जोडीले प्रेम सम्बन्धको रक्षाको लागि गर्ने संघर्षको कथावस्तु वरपर फिल्म घुमेको फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् ।
फिल्म ‘ह्रस्व दीर्घ’ मा नेपाल र भारतका कलाकारले संयुक्त रुपमा अभिनय गरेका छन् । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।