फिल्म । अभिनेता हुँदै निर्देशक बनेका विराज भट्टले आउँदो दसैँमा पुनः नयाँ फिल्म ल्याउने सङ्केत गरेका छन् । यसवर्ष दसैँमा प्रदर्शन भएको फिल्म ‘१२ गाउँ’ घरेलु बक्सअफिसमा ब्लकबष्टर भएपछि उनले दसैँको डेटलाई लक्षित गर्दै नयाँ काम सुरू गरिएको हालै एक भिडियो अन्तर्वातामा बताए ।
‘हामी अब अर्को दसैँ र तिहारसम्म दर्शक माँझ पुनः आउने छौँ । हामीले यसको केही तयारी पनि गरिसकेका छौँ । यसका लागि कार्य प्रारम्भ भइसकेको छ’, विराजले भने । उनले ‘बलिदान’को काम समीर भट्टले सकेपछि विराज भट्ट प्रोडक्सनले सिनेमा बनाउन सुरु गर्ने बताए ।
लामो समय भोजपुरी फिल्ममा काम गरेपछि ‘जय पर्शुराम’ र ‘साङ्लो’ मार्फत दर्शकसम्म आइपुगेका विराजले दर्शकको माया पाएनन् । यद्यपि यसपटक उनले पाएको दर्शकको साथ र बक्सअफिसमा जोडेको अंकगणितलाई स्वयम् विराजसहित उनका टिमका कसैले पनि कल्पना गरेका थिएनन् ।









