सङ्गीत । नेपाली गीतसङ्गीतमा प्रसिद्ध नाम बनिसकेका गायक रामकृष्ण ढकालको अष्ट्रेलियामा हुने सांगीतिक टूरको तयारी तिब्र रुपमा भइरहेको छ । आयोजक संस्था पाल्पा सर्भिसेसले गायक ढकालले सिड्नीमा बाद्यबाधकसँग प्रस्तुती दिने जनाएको छ । ‘उहाँलाई सुन्न सिड्नीका नेपाली अधैर्य छन्, हामीले तयारी पुरा गरिसकेका छौँ । गायक ढकालले स्थानीय बाद्यबाधकको लाइभ म्युजिकमा गीत गाउनु हुनेछ’, पाल्पा सर्भिसेसले जानकारी दियो ।
एक महिना लामो साङ्गीतिक प्रस्तुती लिएर दर्शक तथा स्रोतासँग साक्षात्कार गर्ने तयारी गरिरहेका गायक ढकाल सिड्नीसँगै क्यानबेरा, न्युक्यासल, मेलबर्न लगायतका सहरमा गुञ्जिँने छन् । ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट हुँदैछ । ए टू जेट क्लिनिङ सप्लाएर्स क्लिनिङ् एण्ड हस्पिटालिटी टाईटल स्पोन्सर रहेको उक्त टुरका लागि आफू उत्साहित रहेको गायक ढकालले बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी साट्दै भनेकाछन्,‘केही समयको अन्तरलापछि सिड्नी आउँदैछु । मेरा नयाँ र पुराना गीतसङ्गीतसँगै हाम्रो जमघट हुनेछ । हामी छिटै भेट्नेछौँ ।’
सिड्नीको रकडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनको सुमधुर प्रस्तुती हेर्न सकिने छ । यो कार्यक्रममा गोल्ड स्पोन्सरको रुपमा सर्च एजुकेसन र सिल्भर स्पोन्सरको रुपमा गोर्खाज सुपरमार्केट जोडिएको छ । गायक ढकालको प्रस्तुती हेर्न ९९ अष्ट्रेलियन डलर तोकिएको छ । उक्त रकममा रात्रीकालिन खानासमेत उपलब्ध हुने आयोजकले जनाएका छन् ।