फिल्म । शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’ लाई मोफसल र काठमाडौँ प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । मंगलवार पोखरास्थित मिडटाउन हल र बुधवार ललितपुरस्थित लविम मलमा रहेको क्युएफएक्स सिनेमाजमा गरिएको प्रिमियरमा निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा, नायक विवेक कर्मचार्य, कलाकार कुसुम शर्मा र विजु पार्कीलगायतका कास्ट एण्ड क्रिउ सहभागी थिए ।
निर्देशक चाम्सले प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएपछि दर्शकले पनि यो फिल्मलाई मन पराउनेमा आफू विश्वस्त रहेको जानकारी दिए । रोमान्टिक कमेडी जनराको यो फिल्म हेर्न राम्रै तामझाम गरिएको थियो । लाबिम मलमा ‘रेड कार्पेट मिरर वाक प्रिमियर’ थिम नै आगन्तुकका लागि आकर्षण बन्यो ।
शुक्रबारदेखि रिलिज हुन लागेको फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने र दर्शकले पनि फिल्म मन पराउने विश्वास गरिएको छ । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको यो फिल्मका कार्यकारी निर्माता अमित रिजाल हुन् । फिल्मको छायांकन नेपाल, रोमानिया, फ्रान्स, इटाली र स्पेनमा गरिएको हो ।













