‘बोक्सीको घर’लाई क्युएफएक्सले गर्‍यो ‘सुपरहिट’ घोषणा

फिल्म । पहिलो सातामा नेपाली फिल्म ‘बोक्सीको घर’ ले पहिलो सातामा ६ करोडको ग्रस कलेक्सन गर्ने वितरकले अनुमान गरेका छन् । फिल्म वितरण संस्था डिजिटल सिनेमा नेपालका प्रमुख अशोक शर्माले बुधवारसम्म घरेलु बक्स अफिसमा सुपरहिट बनेको बताएका छन् ।

बिहीबार निर्माण पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा २ करोड ७१ लाख ग्रस र उपत्यका बाहिरका सहरमा २ करोड ७४ लाख ग्रस कलेक्सन गरेको वितरक शर्माले जानकारी दिए ।

‘हामीले अनुमान गरेभन्दा राम्रो रिजल्ट आइरहेको छ । यो लगभग एक सातामा ६ करोड बढी ग्रस कलेक्सन गर्ने तय भएको छ । मुलुकका ८७ हलबाट फिल्म हेर्ने सङ्ख्यामा महिला बढी छन् । त्यसकारण पनि यसको व्यापार स्थिर रहने हाम्रो अनुमान छ’, वितरक शर्माले भने ।

यसका साथै देशकै ठुलो चेन क्युएफएक्स सिनेमाजले ‘सुपरहिट’ घोषणा गरेको छ । ‘महाजात्रा’ पछि क्युएफएक्सले नेपाली फिल्मलाई यसरी आफ्नो वेबसाइटमार्फत ‘सुपरहिट’को ट्याग दिएको हो । क्युएफएक्स अन्तर्गत रहेका देशभरीका हलमा पहिलो सातामा गरेको व्यापारको आधारमा फिल्मले गरेको कलेक्सनको आधारमा यो घोषणा गरिएको हो । अर्थात् यो फिल्मले एक सातामा क्युएफएक्स अन्तर्गतका हलमा दुई करोड बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

पहिलो विकेन्डमा फिल्मले गरेको व्यापार र दर्शकले दिनुभएको ‘वर्ड अफ माउथ’ का कारण यो फिल्म देशभर प्राप्त शोमा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा केकी अधिकारी मुख्य भूमिकामा छिन् । सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्ममा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

कमेन्ट गर्नुहोस्