फिल्म । चौथो सातामा प्रदर्शनरत फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ को निर्माण टिमले दर्शकलाई धन्यवाद दिएका छन् । आज काठमाडौँस्थित एक रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक सौरभ चौधरी, अभिनेता सौगात मल्ल, प्रमोद अग्रहरी, अभिनेत्री मलिका महत, निर्माता अनिश तामाङ लगायतले दर्शकलाई आभार व्यक्त गरेका हुन् ।
‘दर्शकको वर्ड अफ माउथले गर्दा हाम्रो फिल्म चौथो सातामा प्रदर्शनरत छ । दर्शकले देखाउनुभएको मायाप्रति हामी खुशी छौं’, निर्देशक चौधरीले भने, ‘फिल्ममा पक्कै पनि केही कमिकमजोरी छन् । त्यो कमीकमजोरीलाई सुधार्दै जाने हामी प्रण गर्छौ ।’ निर्माता तामाङले कुनै पनि परीक्षामा सय नम्बरमा सय नै अंक आउनु असम्भव रहेको जनाउँदै आफ्नो फिल्मलाई दर्शकले दिएको अंकले खुशी भएको बताए । ‘म र टिमका लागि यो ठूलो उपलब्धी हो । हाम्रो फिल्मले अहिले राम्रो पिकअप लिइरहेको छ । सकारात्मक र नकारात्मक समीक्षा आए पनि दर्शकको साथ पाइरहेका छौं’, तामाङले भने ।
अभिनेता मल्लले फिल्म प्रमोसनका लागि मोफसलका थिएटर र दर्शकमाझ पुग्दा त्यहाँ पाएको साथ र सहयोग आफ्ना लागि ‘सर्पोटिभ’ भएको बताए । ‘मोफसलका हलमा जाँदा दर्शकहरुले म र फिल्मलाई विश्वास गरेर हलमा आउनुभयो । उहाँहरु हाम्रो फिल्म हेर्न उत्साहित भएको पाएँ । कलाकार र मेकरका लागि यो भन्दा खुशीको कुरा अरु के नै हुनसक्छ र ?’ उनले भने ।
अभिनेत्री मलिका महतले दर्शकले फिल्म प्रति दिनुभएको माया र साथप्रति आभार व्यक्त गरिन् । उनले आफूले चरित्रलाई न्याय दिन सकेको कुरा दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रमाणित भएको बताइन् । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।










