फिल्म । नेपाली फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएसँगै यो फिल्मले दोस्रो हप्ताको शोलाई यथावत् राख्दै तेस्रो सातामा प्रवेश गरेको हो । फिल्मले पाएको शोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ । फागुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्मको दिवा र रात्रि शोजमा दर्शकको चाप उच्च रहेको छ भने कति शोज हाउसफुल भइरहेको छ ।
फिल्मको मेकिङ, कथावस्तु, कलाकारको अभिनय, एक्सनलाई दर्शकले निकै रुचाएका छन् । यस्तै, नेपालपछि ओभरसिज बजारमासमेत प्रदर्शन भएको यो फिल्मलाई विदेशी दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । यो फिल्मले अष्ट्रेलिय, संयुक्त राज्य अमेरिका, क्यानडा लगाएतका अन्य देशहरुमा समेत हाउसफुलको निरन्तरता पाइरहेको छ ।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ले युवापुस्तालाई हलमा तानेको देखिन्छ । डार्क हरिस इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ ।










