प्रिमियरमा रुचाइयो ‘उपहार’

फिल्म । आज काठमाडौँस्थित कमलपोखरीमा रहेको एक हलमा नेपाली फिल्म ‘उपहार’ को प्रिमियर गरिएको छ । प्रिमियर समारोहमा उपस्थित हुन नसकेकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले भिडियो संदेशमार्फत सबैलाई फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् ।

‘अब उपहार हाम्रो नभई दर्शकको भएको छ । फिल्म हेरेर कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । हामी खुल्ला हृदयले स्वागत गर्नेछौँ’, अभिनेत्री थापाले भनिन्,‘यो फिल्ममा नारीको सङ्घर्षसँगै सक्षमता पनि देखाईएको छ । स्वाभिमानी महिलाको कथा हो ।’

फिल्म हेर्न उपस्थित अभिनेता तथा हास्य कलाकार किरण केसीले तारिफ गरे । ‘फिल्म रमाइलोसँगै संदेशमुलकसमेत बनेको छ । यसले हसाउने, रुवाउने दुवै काम गर्छ’, हास्य कलाकार केसीले भने ।

प्रिमियरमा उपस्थित अभिनेता रमेश उप्रेती, जीतु नेपाल, केकी अधिकारी, मोडल उषा उप्रेती, गायिका अन्जु पन्त, निर्देशक सुदर्शन थापा, नवल नेपाल, मिलन चाम्स लगायतले फिल्मको विषय र प्रस्तुतीकरणको तारिफ गरे ।

फिल्मका कलाकारहरू बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, समर्पणजंग कार्की लगायत प्राप्त प्रतिक्रियाले उत्साहित थिए । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मबाट प्राप्त प्रतिक्रियाले उत्साह थपिएको बताए ।

‘पहिलो दर्शक बन्नुभएका फिल्मकर्मीले यसको विषयसँग रिलेट गर्नुभयो । पर्दाबाट कथालाई दर्शकको मनसम्म पुर्याउन सक्नु एक किसिमको सफलता हो’, निर्देशक देउजाले भने ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

कमेन्ट गर्नुहोस्