‘उपहार’ ट्रेलर सार्वजनिक

फिल्म । नेपाली फिल्म ‘उपहार’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी फागुन २५ गते प्रदर्शन तय गरिएको फिल्मको सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरू अभिनेत्री रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाललाई स्थान दिइएको छ ।

ट्रेलरमा अभिनेत्री रेखा थापा चियावालीको रुपमा चित्रित छन् । र, ट्याक्सी ड्राइभर बनेका मुकुन भुषालसँग उनको प्रेम अंकुराएको छ । अभिनेत्री पूजा शर्मा भने चुलबुले चरित्रमा देखिएकी छन् । अर्की अभिनेत्री बेनिशा हमाल वकिलको भूमिकामा छन् । कमेडी संवाद हाबी रहेको ट्रेलरमा अभिनेत्री सुष्मा कार्कीलाई चट्नीको रुपमा प्रस्तुत गरिएको छ । समग्रमा ट्रेलर ‘इन्गेजिङ’ बनेको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा रेखा थापा प्रस्तुतकर्ता छिन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । निर्माण पक्षले यसअघि फिल्मका दुई गीत ‘वाह वाह वाह’ र ‘मुटुको चार आना’ बोलका गीत सार्वजनिक गरिसकेका छन् ।

फिल्ममा रेखा थापा, मुकुन भुषाल, पुजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन र आशा भुषालको अभिनय छ । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्