फिल्म । ‘पञ्चेबाजा’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ पूर्ण रुपमा मनोरन्जनात्मक फिल्म रहेको बताएका छन् । उनले कोरोना महामारीको समय पश्चात दर्शकले मनोरन्जनात्मक फिल्मलाई बढी प्राथमिकता दिएको बताए । ‘यो फिल्म बाबुछोरीको कथा मात्र होइन । यसमा मित्रता र ड्रामा पनि छ । यसलाई अहिले दर्शकको टेस्ट बुझेर तयार गरेको छु । अहिले दर्शकको रोजाईमा परिरहेका फिल्मकै अनुसार चित्रा तयार भएको छ । यसले हलसम्म पुग्ने दर्शकलाई निराश बनाउदैन’,निर्देशक लामिछानेले भने ।
अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता परिचित कलाकारको अभिनय रहेको फिल्ममार्फत सन्तोष अधिकारी अभिनेताको रुपमा डेब्यु गर्दैछन् । उनले ‘घर’,‘आमा’ लगायतमा सह-निर्माण गरिसकेका छन् । ‘कथा अनुसार सन्तोषजी राइट कास्टिङ भएकाले ४२ वर्षको उमेर डेब्यू गर्दै हुनुहुन्छ । उहाँलाई सुहाउँदो भूमिका छ’, निर्देशक लामिछानेले भने ।
उनले अभिनेताद्वय प्रमोद अग्रहरी र अर्पण थापाको पात्रमा विविधता पाउने समेत बताए । अभिनेता सन्तोषले आफू यस क्षेत्रमा पैसा डुबाउन नआएको र लगानी गरेको पैसा बजारबाट उठाउन सकिने देखेरै निर्माता बनेको बताए।
‘लगानी उठ्नेमा म विश्वस्त छु । लगानी उठ्नेमात्र होइन, मलाई यसमा गरेको लगानी उठाएरै अर्को फिल्ममा लगानी गर्छु । म यहाँ दीर्घकालीन सोच लिएर आएको हुँ’, अभिनेता अधिकारीले भने । यसमा अन्जना बराईली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
आशिष थापा मगर निर्माता रहेको फिल्मका कार्यकारी निर्माता अभिनेता अधिकारी हुन् । यसमा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा, राजनराज शिवाकोटीको सङ्गीत, महेश पौडेलको छायाँकन, शैलेश श्रेष्ठको पार्श्व सङ्गीत, बनिश शाह र सन्देश शाहको सम्पादन रहेको छ । सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको वितरण श्री कृष्ण फिल्म्सले गर्दैछ । यसको अष्ट्रेलिया प्रदर्शक भने अविनास रोकामगर हुन्








