फिल्म । कथा भन्ने नयाँ शैली स्थापित गरेर म्युजिकल फिल्ममार्फत् लोकप्रियता हासिल गरेको आर्टमाण्डूले आइतबार फिल्म ‘ऊनको स्वीटर’ (द उलन स्वीटर) निर्माण गर्ने घोषणा गरेको छ । फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहनेछ । ‘लालपूर्जा’पछि मिरुना र विपिनको यो दोस्रो सहकार्य हो । फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गर्नेछन् । नवीनले आर्टमाण्डूमार्फत् तीनपाते, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, के माया लाग्छ र, बटौली जस्ता म्युजिकल फिल्म निर्माण गरिसकेका छन्।
अघिल्लो वर्ष मञ्चन भएको नाटक ‘चोरको स्वर’ले थिएटरमा दर्शकहरूको आकर्षण बढाएको थियो । ‘म्युजिकल फिल्म बनाइरहँदा फिचर्ड फिल्मबाट अर्गानिक स्वादको कथा भन्ने सोच बनाइरहेको थिएँ। घोषणा आज गर्न पाउँदा खुसी छु। ममाथि अभिभारा थपिएको छ। राम्रो र फरक सिनेमा बनाउन मेरो प्रयास रहनेछ’, निर्देशक चौहानले भने ।
अभिनेता विपीनले यो फिल्म आफ्नो लागि विशेष हुने बताए । ‘नवीन जीसँग पहिले पनि बटौली र घुमीघुमीमा सहकार्य गरिसकेको छु । उहाँको कामप्रति मलाई पूर्ण विश्वास छ । यो फिल्ममा धेरै कुरा समेटिएको छ । नयाँपनसँगै राम्रो हुनेमा विस्वस्थ छु’,उनले भने ।
अभिनेत्री मिरुना आफू पहिल्यैदेखि आर्टमाण्डूले गरेका कामहरूको प्रशंसक भएकाले सहकार्य गर्न उत्सुक भएको बताइन् । ‘उहाँहरूको कामलाई म फ्यान भएर हेरिरहेको छु। झन् सहकार्य गर्न पाउँदा खुसी छु । जुन क्यारेक्टर मलाई नवीन जीले भन्नुभयो, सुन्दा नै गुजबम आएको थियो। गीत पनि सुन्दा एकदमै कहिले सुटमा जाने होला भनेर आतुर भइरहेको छु’, मिरुनाले भनिन् ।
फिल्म घोषणा गर्नुअघि गायक सुजन चापागाईंले टाइटल गीतको लाइभ प्रस्तुति दिएका थिए । फिल्ममा सुजन र गायिका झुमा लिम्बु संगीत निर्देशक छन् । फिल्ममा एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बा लगायतका कलाकार फाइनल भएका छन् ।
फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्। सम्पादन कृष्ण भण्डारीले गर्नेछन् । ब्याकराउण्ड संगीत निर्देशक कोबिद बज्र हुनेछन् भने पब्लिसिटी डिजाइन ट्राइड्रेन्ट कन्सेप्टका रोयल भिमसेनले गर्नेछन् । फिल्म मंसिरको पहिलो साताबाट फ्लोरमा जानेछ।












