संगीत । स्वर्गीय गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा आयोजित एक समरोहका बीच तीन स्रष्टा सम्मानीत भएका छन् । आयोजित समारोहमा प्रतिष्ठानकी अध्यक्ष किरण प्रधान र कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सङ्गीत सम्मानबाट गीतकार किरण खरेल, प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मानबाट सितारवादक तारावीर सिङ तुलाधर र प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा सङ्गीत पुरस्कारबाट गायिका मिलन नेवारलाई सम्मानीत तथा पुरस्कृत गरे ।
आयोजित कार्यक्रममा गीत तथा सङ्गीतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत् वरिष्ठ गीतकार खरेललाई रू एक लाख, वरिष्ठ सितारवादक तुलाधरलाई रू ७५ हजार र गायिका नेवारलाई रू ५० हजारसहित सम्मानित गरिएको हो । सम्मान तथा पुरस्कार हस्तान्तरणपछि लोकसंस्कृतिविद् दिवसले साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने परम्परा जनस्तरमा ल्याउनु जरुरी रहेको बताए ।
वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीले प्रेमध्वज प्रधानको आवाजमा रेडियो नेपालमा २०१३ सालमा पहिलो गीत ‘रेकर्ड’ भएपछि हिन्दी गीतको दबदबा हट्दै गएको स्मरण गरे । उनले भने,’प्रेम दाईको आवाजमा रेडियो नेपालमा २०१३ सालमा ‘यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ…’ भन्ने गीत रेकर्ड भएको थियो । विसं २०१४ पछि नेपाली गीत रेकर्ड हुन थाले, त्यसअघिसम्म हिन्दी गीतको दबदबा थियो ।’
गायिका नेवारले आफूले प्राप्त गरेको सम्मानले दायित्व थपिएको बताइन । उनले भनिन्,’मेरो पहिलो एल्बल निकाल्दा प्रमुख अतिथिको रुपमा प्रेम अंकल उपस्थित रहेर मलाई आशिर्वाद दिनुभएको थियो । आज उहाँको जन्मजयन्तीमा सम्मानीत हुँदाको क्षण शब्दमा व्यक्त गर्न सकिरहेकी छैन ।’ लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईद्वारा संचालित कार्यक्रममा आनन्द कार्की, उदेश श्रेष्ठ, सुरज थापा र पुरस्कृत कलाकार नेवारले गायक प्रधानका गीत प्रस्तुत गरेका थिए ।












