विश्व हाँसो दिवस : हास्यकलाकार भन्छन् हास्नु स्वास्थ्यको लागि लाभदायक

देश। आज पच्चीसौं विश्व हाँसो दिवस । सन १९९८ मा भारतका एक वरिष्ठ डाक्टरको पहलमा मनाइन थालिएको यो दिवसलाई मे महिनाको पहिलो आईतबार मनाईने गरिन्छ । यद्यपि यसपटक नेपालमा क्यालेन्डर अनुसार वैशाख १५ मा रहेको छ। हाँसोमा आधारित योगामार्फत मनाउन सुरु गरिएको हाँसो दिवसले विश्व शान्तिमा सकारात्मक योगदान र मित्रताको विश्वव्यापी चेतना फैलाउन विश्वास रहेको छ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पु¥याउने योग विज्ञको भनाइ छ ।

हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने हास्य कलाकार शिव शंकर रिजालले बताउनुभयो। उहाँ दैनिक योगा गर्नुका साथै हास्ने गर्नुहुन्छ। “म हास्ने योगा पन्ध्रदेखी बीस मिनेटसम्म गर्ने गरेको छु। म देखावटी नभई मनदेखी नै हास्छु। यसले स्वास्थ्य पनि बनाउँछ”,हास्य कलाकार रिजालले भन्नुभयो।

हाँस्दा मष्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मूड ठीक गर्न मद्धत गर्छ । मूड ठीक हुनुको अर्थ हो, जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु हो । मूड ठीक हुँदा मानिसको व्यक्तिगत, सामाजिक, व्यवसायिक जीवनमा सकारात्मक प्रभाव पर्छ । हास्य कलाकार किरण केसीले नेपालमा यसै सन्दर्भमा कार्यक्रम नगरिएता पनि हास्य विधालाई दर्शकले रोजाईको प्राथमिकतामा राखेको बताउनुभयो।

“हास्य विधामा काम गर्ने कलाकार अहिले सम्पन्न भएका छन्। देशदेखी विदेशसम्म पुगेर आफ्नो प्रस्तुती दिएका छन्। यो सबै दर्शकको रोजाईका कारण सम्भव भएको हो”,हास्य कलाकार केसीले भन्नुभयो,“हाम्रो कामले एकै छिन भएपनि मुहार उज्यालो बनाउने काम गर्छ। त्यसैले हाम्रो काम शृङ्खलामा होस् या चलचित्रमा दर्शकले रुचाएका छन्।”

सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले विकृतिलाई प्रहार गर्दै आम जनताको कुरालाई बाहिर ल्याउँदा हास्यव्यङ्ग्य रुचाइएको बताउनुभयो । “चलचित्र होस् वा प्रहसन त्यहाँ जनताको मनको कुरा भनिएको आभास भएकै कारण रुचाइएको हुनुपर्छ । विकृतिलाई गरिएको व्यङ्ग्य कलाकात्मक रूपमा प्रस्तुत गरेकाले नै फस्टाएको हो”, अध्यक्ष गाम्नागेले भन्नुभयो । आफू र संस्थाले हास्यव्यङ्ग्यलाई सभ्य र शालिन बनाउँदै सामाजिक रुपान्तरणमा योगदान गर्ने बाटोमा रहेको उहाँले बताउनुभयो । नर्वेमा गरिएको एक अध्ययनले जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहाँस्ने मानिसभन्दा बढी समयसम्म बाँचेको पाइएको थियो।

कमेन्ट गर्नुहोस्