मोहन निरौलाले घोषणा गरे प्यानल

फिल्म। नेपाली चलचित्र कलाकार संघको नेतृत्वका लागि मोहन निरौलासहितको प्यानल घोषणा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छिन् भने महासचिवमा सविन श्रेष्ठ छन् । सचिवमा रामेश्वर बुर्लाकोटी छन् । त्यस्तै कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छन् । सहकोषाध्यक्षमा उम्मेदवार दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छिन् ।

सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन् । अध्यक्ष पदका उम्मेदवार निरौलाले कलाकार संघको भवन तथा कार्यालय व्यवस्थापन, सदस्यतासहित सामाजिक सुरक्षा, वृत्तिविकासलाई आफ्नो एजेण्डा बनाएका छन् । निरौला संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता समेत छन् ।

कार्यक्रममा बोल्दै उम्मेदवार निरौलाले लैंगिक तथा यौन हिंसाविरुद्ध शून्य सहनशीलताको नीति लिने, मातृ भाषी चलचित्रका कलाकारलाई संघमा आबद्ध गराउने नीति लिने बताए । उनले विभिन्न देशमा रहेका मौजुदा शाखाको बिस्तार गरी विश्वभर छरिएका कलाकारहरूलाई एक सूत्रमा बाँध्ने आफ्ना एजेण्डा रहेको बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले महिला र पुरुष भनेर टुट्नु नहुने बताइन् । उनले अध्यक्ष पदमा उठ्ने अर्को पक्षलाई उम्मेदवारी फिर्ता लिएर निरौलालाई सघाउन आग्रह गरिन् । उनले नयाँ मात्रै आएर नेतृत्व सम्हाल्न नसकिने बताइन् । कलाकार संघको अध्यक्षमा बुधवार रेजिना उप्रेतीले पनि प्यानल घोषणा गरेकी छिन् । कलाकार संघको नेतृत्वका लागि शनिबार चुनाव हुँदैछ ।

कमेन्ट गर्नुहोस्