फिल्म । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलीशृंखला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गरे । उनलाई नेपाल टेलिभिजनमा पर्खिने दर्शकको कुनै कमी थिएन । ६ सय ९९ भाग प्रसारण भएर किर्तिमान बनाउन सफल टेलीशृंखला वि.सं.२०५३ सालमा सुरु हुँदा ‘आज भोलिका कुरा’ थियो । तात्कालिन नेपाल टेलिभिजनको महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरु भएको टेलीशृंखला १७ भाग पश्चात ‘भोलिको कुरा’ स्वाभाविक नभएपछि‘हिजो आजका कुरा’ बन्यो । पाक्षिक कार्यक्रम लोकप्रिय भएपछि साप्ताहिक बन्यो ।
उक्त समयमा झुपडीदेखि दरबारसम्म रुचाइएता पनि देशमा आएको परिवर्तनसँगै २०६३ मा यो हाँस्य टेलीशृंखला बन्द भयो । दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाउनु भएपछि अभिनेता पन्तले नीजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म १ सय १७ भाग प्रसारण गर्नुभयो । लोकप्रियता नपाउँदा नीजी टेलिभिजनसँगको यात्रा लामो भएन । १६–१८ घन्टा सम्म हुने लोडसेडिङले यसलाई धेरै दर्शकसम्म पुग्न दिएको थिएन । केही समयको अन्तराल पश्चात अभिनेता पन्तले पुनः यसलाई सानो पर्दामा नभई ठुलो पर्दामा ल्याउदै छन् ।
सन्तोषकै छोरा साकार पन्तले ‘हिजो आजको कुरा’ फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दै हुनुहुन्छ । सन्तोष भन्छन्, ‘पुस्तान्तरण गरेको हुँ । नयाँ पुस्तालाई नयाँ सोच भएकै मेकर्स चाहिन्छ भनेर छोरालाई अगाडी सारेको हुँ ।’ फिल्ममा हिजो आज भइरहेका कुरा देखाइएको उनले बताए । फरक सोचका कुरा , बेथितिका कुरा , विदेशिनेहरुका कुरा , विदेशिएका कुरा , मतभेदका कुरालाई समेटेर फिल्म तयार गरिएको छ । टेलीशृंखलाको रुपमा लोकप्रिय भएपछि ठुलो पर्दामा ल्याउदा ‘द मुभी’ लेखिएको छ । ‘यसलाई टिभीकै शृंखला नबुझियोस् भनेर मुभी नै लेखेका हौँ । टेलिभिजनको दर्शकलाई हलसम्म ल्याउने तयारी छ’ अभिनेता पन्तले भने।
फिल्ममा उहाँको जोडी टेलीफिल्ममा झैँ रमा थपलिया छिन्। फिल्ममा पनि रमा नै जोडीको रुपमा देखिदै हुनहुन्छ ।‘फिल्ममा अभिनय गर्दा टेलीफिल्मका दिनहरु सम्झिए । निकै रमाइलो भयो । रिलको जोडीसँग फेरी सहकार्य भयो’ उहाँले भन्नुभयो ।
हिजो आजका कुरालाई फिल्मको रुप दिन पाउँदा साकार उत्साहित छन् । ‘हिजो आजका कुरा हेर्ने र यसलाई रुचाउनेहरु ठुलो पर्दामा पाउँदा पक्कै खुसी हुनुहुनेछ । हामीले साख झर्ने काम गरेका छैनौँ । मेरो लागि यहिँ शिर्षक लिएर डेब्यु गर्नु अवसरसँगै चुनौती पनि छ’ साकारले भने । फिल्ममा ऋचा शर्मा , दिव्य देव , रीमा विश्वकर्मा , केकी अधिकारी, स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतको अभिनय रहेको छ ।










