फिल्म । आउँदो फागुन ५ लाई घनश्याम लामिछानेद्वारा निर्देशित फिल्म ‘लन्डन टू पेरिस’को प्रदर्शन मिति घोषणा गरिएको छ । पहिलो सेड्युलको छायांकन लन्डनमा सकाएको फिल्म युनिट दोस्रो सेड्युल पेरिसमा छायांकन गर्ने तयारीमा छ । फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा भएकाले निर्माताले फिल्म प्रदर्शनका लागि फागुन ५ को मिति उपयुक्त ठानेका हुन् ।
फिल्ममा साम्राज्ञी आरएल शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् । निश्चल र गरिमाले यसै फिल्म मार्फत डेब्यु गर्दैछन् ।ट्राभल लभस्टोरीमा आधारित फिल्ममा साम्राज्ञीको जोडी निश्चलसँग बाँधिएको छ । एबी इन्टरनेशनलको ब्यानरमा निर्मित ‘लन्डन टू पेरिस’को कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।
फिल्मको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल छन् भने सह-निर्मातामा अजित सिंह छन् । ‘पासवर्ड’बाट फिल्म निर्माणमा होमिएको एबी इन्टरनेशनलले त्यसपछि ‘सम्हालिन्छ कहिले मन’ निर्माण गर्यो । गत जेठमा फिल्म ‘हनी बनी’को पनि निर्माण गरेको छ । यो कम्पनीले लण्डनमा छायांकन गर्ने गरी फिल्मको निर्माण गर्दै आएको छ ।










