भुवनलाई ‘महानायक’ बन्ने अवसर

प्रदीप कार्की

भुवन केसी नेपाली फिल्मको सर्वोच्च संस्था मानिने चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन्। उनले दोस्रो पटकको प्रयासमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष बन्ने सपना पुरा गरेका हुन् । गत वैशाख २० गते प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस प्रवेश गरेपछि उनी आउँदो बोर्ड अध्यक्ष बन्नेछन् भन्ने चर्चा फिल्मनगरीमा चलेको थियो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग मौखिक सहमतीमै नेपाली कांग्रेस प्रवेश गरेका उनी सफल भएका छन्। उनी बाहेक अन्य १० जनाको अन्तर्वार्ता लिइएता पनि उनलाई सर्ट लिस्ट नै नगरी मनोनयन गरियो। मन्त्रीपरिषदको वैठकले भुवनलाई बोर्ड अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेपछि मातहतको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नियुक्ति दिएको हो।
त्यसो त उनलाई प्रदेश सभामा लैजाने चर्चा पनि नचलेको होइन । यद्दपि नेताहरुका लागि उनलाई दिन उपयुक्त पद बोर्ड अध्यक्ष नै भएपछि मोटामोटी सहमति गरेर आवेदन दिन लगाइएको हो। फिल्मलाई नेपाल सरकारले सम्बोधन गर्ने कार्यकारी निकायको चाबी पाएका केसीले आउँदो दुई वर्षमा के गर्लान् ? हेर्न बाँकी छ। उनको नियुक्तिसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया छ।

राजनीतिमा भुवन

भुवन केसी नेपाली फिल्ममा सफल मानिन्छन। उनले अभिनयसँगै निर्माण र निर्देशनमा पनि आफूलाई सफल बनाए। पछिल्लो समय अभिनयमा सफल हुन् नसकेता पनि छोरा अनमोल केसीलाई लिएर उनले निर्माण गर्ने फिल्म नेपालको ठुलो फिल्म मानिन्छ। भुवन फिल्ममा सफल भएता पनि राजनीतिमा भने असफल थिए। उनले नेकपा एमालेबाट संविधान सभाको निर्वाचनका लागि पाएको टिकेट समेत फिर्ता गर्नु परेको थियो ।

पार्टीमा माधवकुमार नेपाल निकट मानिएका भुवनले केपी शर्मा ओली सत्ता र पार्टीको अध्यक्षमा आएपछि लाभको पद लिने प्रयास नगरेका होइनन्। उनले अध्यक्ष बन्न अगाडी पनि प्रयास गरे। यद्दपि पार्वत गुरुङ्ग सञ्चार मन्त्री रहदा उनको त्यो सपना पुरा भएन। पुर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाको सिफारिसमा उनकै क्षेत्रका दयाराम दाहाल बोर्ड अध्यक्ष बने । त्यसपछि नाखुस राखेका भुवनलाई नेपाली कांग्रेसमा समाजसेवी अनुराधा कोइरालाले ल्याएकी हुन्। उनले नै सभापति देउवासँग कुरा गरेर भुवनलाई बालुवाटारसम्म पुर्याएकी थिइन्। भुवनको कांग्रेस प्रवेशमा नीर शाह पनि थिए । यद्दपि उनको भूमिका स्पष्ट छैन । किनकी बोर्ड नियुक्तिका लागि उनले अन्यलाई पनि सहयोग गर्ने बताएका थिए।

जे होस् भुवन यसपटक राजनीतिमा सफल भए । कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँको सहयोगमा उनी बलियो उम्मेदवार पुगे । आफ्नो स्टारडमको प्रयोग गर्दै अन्य भन्दा आफूलाई बलियो उम्मेदवार बनाए। बोर्ड अध्यक्ष बन्ने सुनिश्चित भएपछि मात्र उनले आवेदन दिएका थिए। नेपाली फिल्ममा ‘अवसरवादी’ चरित्रका मानिने भुवनले आउँदो दिनमा राजनीतिलाई कसरि अगाडी बढाउने छन् ? यो हेर्न बाँकी छ।

महानायक बन्ने अवसर

एक टेलिभिजन शो मार्फत राजेश हमालले महानायकको उपाधि पाए । यसमा भुवन असतुष्ट रहेको कुरा लुकेको छैन । व्यसायिक रुपमा सफल फिल्म दिएका भुवनले राजेशलाई महानायकको रुपमा स्वीकारेका छैनन् । यद्दपि अहिले भुवन नेपाली फिल्मलाई नेपाल सरकारसँग जोड्ने सर्वोच्च संस्था चलचित्र विकास बोर्डको सर्वोच्च पदमा छन् । उनी दुई वर्ष अध्यक्षको चेयरमा रहनेछन् । उनको स्टारडम र अनुभवले फिल्मकर्मीको लागि हित गर्न सके उनी ’महानायक’ बन्नेछन् ।

नेपाली फिल्ममा चार दशकको यात्रा तय गरेका भुवनले धेरै समस्यालाई समाधान गर्नु छ । उनले ड्राफ्टमै सिमित चलचित्र नीतिलाई पारित गराएर कार्यान्वयन गर्न सके अहिले नेपाली फिल्म र फिल्मकर्मीले झेलिरहेको धेरै समस्या समधान हुन् सक्छ । हलहरुमा जडान भएको बक्स अफिसको डाटा समेत फरक आइरहेको छ । वितरकले दिने र बक्स अफिसले दिने हिसाबमा किन फरक आइरहेको छ । उनले यसलाई सुल्झाउनु पर्नेछ । बक्स अफिस जडान भएको छ । तर , त्यसको कत्तिको पारदर्शिता छ ? यो प्रश्न कायमै छ ।

निगरानी उपत्यका भन्दा पनि मोफसलको तराईका हलहरुमा बढाउनु आवश्यक छ । नेपाली फिल्मको प्रदर्शनलाई लिएर बेलाबखतमा आवाजहरु उठ्ने गरेका छन् । घरेलु बक्सअफिसमै नेपाली फिल्मको तुलनामा विदेशीले ग्राहयता पाउने गरेको गुनासो नौलो होइन । स्वयम् उनकै छोरा अनमोल केसीले अभिनय गरेको पछिल्लो फिल्म ’ए मेरो हजुर ४’ प्रदर्शनको समयमा भोगेको समस्यालाई उनले कसरि सुल्झाउछन् ? हेर्न बाँकी छ । बढ्दो मेकिङ्ग खर्च तर बजार विस्तार हुन् नसक्दा पिडा झेलिरहेका निर्माताको राहत कसरि बन्नेछन् ? त्यो हेर्न बाँकी छ। नेपाली फिल्मको समस्यालाई समाधान गरेर फिल्मकर्मीले त्यसलाई अनुभूति गर्न पाए भने भुवन सबै फिल्मकर्मीको ’महानायक’ बन्नेछन्।

कमेन्ट गर्नुहोस्