खगेन्द्रको ‘पानीफोटो’ भाद्रमा रिलिज हुने

फिल्म । अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’ ले रिलिज मिती तय गरेको छ । टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद , धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफुलाई ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराईसकेका छन् । उनि फिल्म ‘पानीफोटो’ बाट निर्देशनमा होमिएका हुन् । कोरोना भाइरसको महामारीका कारण रिलिज डेटमा केहि समय ढिलाई भएको ‘पानीफोटो’ आउँदो वर्ष विक्रम संवत २०७९ सालको भद्र १० अर्थात सन् २०२२ अगस्ट २६ मा प्रदर्शनमा आउने भएको छ । वितरक तथा प्रदर्शकहरुको छलफल पश्चात फिल्म युनिटले भाद्र १० गतेलाई डेट तय गरेका हुन् ।

स्वयम् खगेन्द्रले आफु लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई दर्शक माँझ लिएर आउन लागेका हुन् । यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । फिल्ममा खगेन्द्रसंगै अनुप बराल , मेनुका प्रधान , प्रकाश घिमिरे , माओत्से गुरुङ , बुद्धि तामाङ्ग , कमलमणि नेपाल , अशान्त शर्मा , मलिका महत , प्रकाश घिमिरे, राधा श्रेष्ठ ,अजस्र ढुङ्गाना, कमल देवकोटा , अनोज पाण्डे , अनिल पाण्डे , नवराज गिरी , श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको छायांकन काठमान्डौसँगै वर्दिया , रोल्पा र स्याङ्गजामा गरिएको छ । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्याउने मेरो सपना नै थियो । मैले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ’ खगेन्द्रले भने । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यसफिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्