बैशाख अन्तिममा ‘चिसो मान्छे’

फिल्म । नेपालमा कोरोना भाइरसको दोस्रो लहरको प्रभाव कम भएसंगै फिल्म हल खुलेपछि गतिविधि बढ्न थालेका छन् । नयाँ फिल्म प्रदर्शनका लागि पनि मिति तय भइरहेका छन् भने निर्माण र घोषणाले पनि गति लिदैछ । यसैक्रममा आउँदो वर्ष अर्थात २०७९ साल बैशाख ३० गते फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज घोषणा गरेका हुन् ।

वितरक तथा प्रदर्शकसँगको छलफल पश्चात आउँदो वर्षको वैशाखमा फिल्मको रिलिज मिति रखिएको निर्देशक दीपेन्द्र के. खनालले बताए । ‘मैले आफ्नो फिल्मलाई कसैसँग डेट नजुधोस भनेर नै खाली डेटमा घोषणा गर्ने गरेको छुँ ‘ निर्देशक खनाल भन्छन् ,’अब हामी नेपाली फिल्मकर्मीले एक अर्काको फिल्मलाई बाधा नपुग्ने गरि फिल्म प्रदर्शन गर्नु पर्छ ।’

स्वस्तिमा खड्का र अर्पण थापाको अभिनय रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । दीपेन्द्र के. खनालको निर्देशनमा तयार फिल्ममा स्वस्तिमाको भूमिका सशक्त रहेको बताइएको छ । सामाजिक कथामा तयार फिल्ममा स्वस्तिमा र दीपेन्द्रको यो दोस्रो पटक सहकार्य हुने भएको हो । यसअघि यी दुईको टीमअप ‘लभ लभ लभ’मा भएको थियो । फिल्ममा स्टारडम भन्दा कथा र पात्रमा बढी ध्यान दिने भएकै कारण दीपेन्द्र र स्वस्तिमा बीच हुने सहकार्यले फिल्मलाई प्रतिक्षित बनेको छ । फिल्मलाई रीच इन्टरटेनमेन्टसँगै जीजीए ग्रुपले उपत्यकामा र एफडी कम्पनिले मोफसलमा वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्