युरो कप : स्वीडेनसंग स्पेन बराबरीमा

विदेश । युरो कप २०२० को समूह ‘डी’ अन्तर्गत सोमबार भएको पहिलो खेलमा चेक गणतन्त्रले स्कटल्यान्डलाई २-० को नतिजामा पराजित गरेको छ । स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा प्याट्रिक शिकले गोल गर्दै चेक टोलीलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा स्कटल्यान्डले अट्याक गरिरहेको थियो । तर, सोही समयमा चेक खेलाडीले क्लियर गरेको बलमा शिकले मैदानको बीचभागबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो । जितसँगै प्रतियोगिताको सुरुआत गरेको चेक टीमले आफ्नो अर्को खेलमा शुक्रबार क्रोएसियासँग खेल्ने छ ।

यस्तै , समूह ‘ई’ अन्तर्गत सोमबार भएको दोस्रो खेलमा स्लोभाकियाले पोल्यान्डलाई २-१ गोलको नतिजामा पराजित गरेको छ । रुसको सेन्ट पिटर्सबर्गमा भएको खेलमा स्लोभाकियालाई जित दिलाउन पोल्यान्डका गोलकिपर वेइचेक सेचेन्स्नीले आत्मघाती र मिलान स्क्रिनियरले एक गोल गरे । खेलको १८औं मिनेटमा सेचेन्स्नीको आत्मघाती गोलसँगै अग्रता लिएको स्लोभाकियाले उत्कृष्ट डिफेन्सिभ प्रदर्शन गर्दै काउन्टर अट्याकमा गोल गर्न सफल भएको थियो ।

पहिलो हाफमा १-० ले पछि परेको पोल्यान्डले दोस्रो हाफको पहिलो मिनेटमै बराबरी गोल फर्काएको थियो । ४६औं मिनेटमा कारोल लिनेटीले गरेको गोलसँगै खेलमा फर्किएको पोल्यान्डका मिडफिल्डर ग्रिजगोर्ज क्रिचोवाइकले दोहोरो पहेँलो कार्डको सामना गर्दै खेल सकिनु ३० मिनेट अगावै मैदान छाड्नु परेको थियो ।

यस्तै , मंगलवार विहान सम्पन्न स्पेन र स्वीडेन बराबरीमा रोकिएका छन् । स्पेनले खेलमा एकीकृत स्वीडिस टिमसँग बल नियन्त्रणमा प्रभुत्व जमाए पनि निराशाजनक बराबरी खेलेको छ । लुइस एनरिके प्रशिक्षित स्पेनले खेलमा अधिकांश समय (८५ प्रतिशत) बलमा कब्जा जमाएको थियो । यो बराबरीले समूह इ मा रहेको स्लोभाकियालाई फाइदा पुगेको छ । उसले पोल्याण्डमाथि अप्रत्यासित २–१ गेलको जित हासिल गरेको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्