विदेश । अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले कोरोना भाइरसविरुद्ध विकास गरेको खोप किशोरकिशोरीहरूमा शतप्रतिशत प्रभावकारी देखिएको जनाएको छ । कम्पनीका अनुसार १२ देखि १७ वर्ष उमेरका करिब ४ हजार जनामा गरिएको क्लिनिकल परीक्षणमा आएको नतिजाले प्रभावकारीटा प्रस्ट्याएको हो । परीक्षणका क्रममा ३ हजार ७ सय ३२ जनालाई खोपको पूरा मात्रा दिइएको थियो । खोपको एक मात्रा मात्र लिएकाहरूमा भने यसको प्रभावकारिता ९३ प्रतिशत देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।
यस्तै , फाइजर खोप भने १२ देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरीहरूमा मात्र शतप्रतिशत प्रभावकारी देखिएको थियो । पछिल्लो नतिजासँगै मोडेर्नाले खोप प्रयोगको अनुमतिका लागि अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष निवेदन दिने जनाएको छ । अमेरिकामा १२ देखि १७ वर्ष उमेर समूहका करिब १ करोड ७० लाख जना छन् । यो समूहका किशोरकिशोरीहरूमा भाइरसको असर कम देखिएको भए पनि संक्रमणको वाहक बन्ने सम्भावना उच्च छ । (एजेन्सी)









