देश । नेपाल पत्रकार महासंघको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन् । शनिवार साँझ ५ बजे महासंघमै घोषणा गरिए अनुसार पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरेकी छन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६ सय ९१ मत प्राप्त गरेका छन् ।
पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा काँग्रेस निकट प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो । गत चैत २५ गते भएको चुनावबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम, महासचिवमा रोशन पुरी निर्वाचित भएका छन् । यस्तै, सचिवमा गोविन्द चौलागाईँ, सृजना अर्याल, नारायण सुन्दर किलम्बु, दीपेन्द्र चौहान, हेमकर्ण बिक र पवन आचार्य विजयी भएका छन् । कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी भएका छन्।