फिल्म । पोखरामा छायांकन भइरहेको फिल्म ‘डिसेम्बर फल्स’को सेटबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी सहित अन्य कलाकारहरुको तस्विर सार्वजनिक भएको छ । सार्वजनिक तस्वीरमा चकलेटी हिरोको रुपमा चिनिएका आर्यन फरक लुक्समा देखिएका छन् । यस्तै , उपासनासंग उनको जोडी सुहाएको देखिएको छ ।

यस्तै , फिल्मका अन्य मुख्य कलाकार सलोन बस्नेत र सञ्चारकर्मी नरेश भट्टराई पनि आफ्नो क्यारेक्टर अनुसार नै देखिएका छन् । सलोनको लुक्स अन्य फिल्मको तुलनामा केहि फरक देखिएको छ । केहि दिनमा पोखराको सेड्युल समापन हुने निर्माण पक्षले जनाएको छ । प्रविण झाको निर्देशनमा तयार भइरहेको फिल्मलाई दक्षिण भारतीय छायाँकार महेश आर गुप्ताले खिचिरहेका छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल र निर्मातामा राजकुमार भट्ट छन् ।

फिल्ममा सुमन थापा रोहित, दयाराम दाहालको पनि अभिनय छ । बिपीका खनालको कथा रहेको फिल्मको पटकथा र संवाद केदार भुसालले लेखेका हुन् ।
