बुधबारदेखि नेपालमा खोप लगाइने

0 Shares

देश । अन्तत: नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने डेट तय भएको छ । गत बिहिवार मात्र भारतले नेपाललाइ १० लाख डोज उपलब्ध गराएको थियो । स्वास्थ्य मन्त्रालयले बताए अनुसार नै खोप ल्याइएको एकसाता भित्र खोप लगाउने कार्य सुरु हुदैछ । खोप १४ गते बुधवार देखि लगाइने भएको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ ।

भारत सरकार मार्फत प्राप्त ‘कोभिसिल्ड’ खोप १४ गते बुधबार १० बजे लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् र सात प्रदेश र काठमाडौं उपत्यकाका ६२ वटा अस्पताल भर्चुअल माध्यमबाट जोडिनेछन् । १८ गतेभित्र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रमा खोप पुग्नेछ र अभियान सुरु भएको १० दिनभित्र पहिलो चरणको खोप लगाइने बताइएको छ ।

पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शवबाहनका चालक सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरु, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइने मन्त्रालयले बताउदै आइरहेको छ ।

काठमाडौं उपत्यकामा ११ वटा बुथबाट खोप अभियान सुरु हुनेछ । त्यसको लागि कोभिड अस्पताल र मेडिकल कलेज तोकिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल सरुवा रोग अस्पताल, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, भक्तपुरस्थित भक्तपुर अस्पताल, थापाथलीस्थित प्रसुती गृह, बलम्बुस्थित एपीएफ अस्पताल, ललितपुरस्थित पाटन अस्पताल, वीर अस्पताल र केही मेडिकल कलेजमा खोप लगाउने बुथ राख्नको लागि तयारी गरिएको छ । एउटा खोप बुथले एक दिनमा १२० देखि १२५ जनालाई खोप दिनसक्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्