कांग्रेसले देशभर गर्यो प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन

देश । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले सोमबार १ सय ६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसको प्रदर्शनमा सम्बन्धित क्षेत्रका सांसद तथा नेता कार्यकर्ताको उपस्थिति रहेको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका थिए ।

भक्तपुरमा आयोजित सरकारको कदमको विरोध सभामा सोमबार सभापति देउवाले कांग्रेस न्यायालयलाई मान्ने पार्टी भएकाले अदालतमा विचाराधीन मुद्दामा कुनै पनि पक्षमा नबोल्ने बताएका हुन् । सभापति देउवाले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने निर्णय भने असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । कोरोना महामारी चलिरहेकाले कम्तिमा ‘दुई गज’को दुरी राखेर प्रदर्शन गर्न पनि उनले कार्यकर्ताहरूलाई सुझाएका थिए । पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

त्यसयता सत्तारुढ दल दुई खेमामा विभाजन भएको छ । प्रधानमन्त्री ओली पक्ष बैशाखमा घोषणा गरिएको मध्यावधी निर्वाचनको पक्षमा लागेको छ भने पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष संसद विघटनको विपक्षमा रहेको छ । हाल संसद विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । उक्त मुद्दामा पुस २२ गतेदेखि सर्वोच्चमा नियमित सुनुवाइ हुने भएको छ ।

कमेन्ट गर्नुहोस्