कम्युनिटी शिल्ड च्याम्पियन बन्यो आर्सनल

विदेश । प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि खेलाइने कम्युनिटी शिल्ड फुटबलको उपाधि आर्सनलले जितेको छ । वेम्बली स्टेडियममा शनिवार भएको खेलमा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जित्न सफल भएको हो । पछिल्लो उपाधिसँगै आर्सनलले कम्युनिटी शिल्ड १६ औं पटक विजेता भएको हो ।

फस्ट हाफमा लिभरपुल र सेकेन्ड हाफमा आर्सनलले १/१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा आर्सनलका लागि रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एमरिक ओबामियाङले गोल गरेका थिए ।

लिभरपुलका चार खेलाडी मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे । तर, युवा खेलाडी रिहन ब्रेउस्टरको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो । प्रिमियर लिग र एएफ कपको विजेता बीच नयाँ सिजनअघि कम्युनिटी शिल्ड खेलाइन्छ । आर्सनल एफए कपको विजेता हो भने लिभरपुल प्रिमियर लिग विजेता हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्