फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण अहिले विश्वनै ठप्प छ । सामाजिक दुरी कायम गरेर यसको महामारी रोक्न सकिने निक्यौल निस्किएपछी विश्वका अधिकांस देशले लकडाउन गरिरहेका छन् । यसले मनोरंजन क्षेत्रलाई पनि उत्तिकै असर गरेको छ । यसका सबै काम रोकिएका छन् । लकडाउनको कारण सबै घरमा छन् भने भिडभाडका साथ गरिने काम सम्भव छैन ।
केहि फिल्मको केहि प्रतिशत मात्र छायाँकन बाँकी रहदा असर गरेको छ । फिल्ममा गरिएको लगानी फ्रिज हुँदा निर्माता संकटमा छन् । यसैगरी टिभी तथा ओटीटि प्लेटफर्मका लागि नयाँ सिरिज छैनन् । यस्तै अवस्थालाई मध्यनजर गर्दै बलिउड फिल्म उद्योगको सिने एन्ड टीभी आर्टिस्ट्स एसोसिएसन र फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइज (गिल्ड) ले मे ४ मा बैठक बसेर फिल्म छायांकनका लागि केही नयाँ अवधारणा अघि सारेको छ। यी अवधारणा माथि अहिले गम्भीर रूपमा छलफल चल्न थालेको छ। भारतीय सरकारले पनि फिल्म सुटिङको गाइड लाइन तयार गर्न सक्छ तर त्योभन्दा पहिले नै फिल्मकर्मीले उचित कदम चाल्नु आवश्यक भएको गिल्डको ठम्याइँ छ।
सुटिङ सुरु भइहाले पनि अब हुने सुटिङको माहोल पहिलेको भन्दा नितान्त फरक हुनेछ । गिल्डको बैठकमा विभिन्न कोणबाट भएको छलफलमा सुटिङ स्पटमा आउँदा कलाकारले घरबाटै मेकअप गरेर आउनुपर्ने, कलाकारले आफूसँग सकेसम्म थोरै स्टाफ तथा सहयोगी ल्याउनुपर्र्ने, सुटिङ सेटमा सुरक्षाका लागि डाक्टर तथा नर्स अनिवार्य राख्नुपर्ने, सुटिङ पूरा क्षेत्र सेनेटाइज गर्नुपर्ने, सुटिङ युनिटका सबै सदस्यको तापक्रम जाँच गरिदै सुटिङ गर्न सकिने बताइएको छ ।
यसैगरी, युनिटका प्रत्येक सदस्यलाई १२ घण्टाको सुटिङ अवधि छ भने चारवटा मास्क उपलब्ध गराउनुपर्ने, ६० भन्दा बढी उमेरका कलाकार तथा प्राविधिक छन् भने सुरुआती तीन महिनासम्म सुटिङमा लागि नबोलाउने, सबैको बिमा अनिवार्य गराउनुपर्ने लगायतका विषयमा छलफल गर्दै साना ब्यानर र टीभी सिरियलहरूको सुटिङ सुरु गर्न सकिने बताइएको छ । भारतीय मिडियामा आएको खबर अनुसार यस्ता नियमानुसार ठुला स्टारको फिल्म पनि सुटिङ गर्न सकिने छ । (एजेन्सी)