देश । पछिल्लो समय नेपालमा केहि अन्तराष्ट्रिय इभेन्ट हुने संकेत भएता पनि त्यसले मुर्त रुप पाउन सकेको छैन । तथापी अवसर भने प्रसस्त नै छन् । यसै क्रममा विश्वको सर्वाधिक पुरानो र प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका रूपमा हेरिने मिस वर्ल्डको आगामी संस्करण नेपालमा आयोजना गर्न गृहकार्य अघि बढाइएको छ । नेपालमा आयोजनाका लागि बिहीबार नेपाल आइपुगेको मिस वर्ल्ड २०१९ टोनी एन सिंह, मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेसहितको टोलीले पर्यटनमन्त्री योगेश भट्टराईसँग कार्यक्रमका लागि प्रारम्भिक छलफल अघि बढाएका छन् । मिस वर्ल्डको पछिल्लो ६९ औं संस्करण बेलायतमा भएको थियो ।
नेपाली पहिरनमा उपस्थित भएकी अध्यक्ष मोर्लेले मन्त्रीको आश्वासनपछि उत्साहित भएको बताएकी थिइन् । उनले प्रतियोगिता गर्न नेपालले उपलब्ध गराउन सक्ने स्रोतसाधन र सुरक्षाका बारेमा चासो राखेकी थिइन् । त्यसो त मिस वर्ल्डले यसअघि नै ७० औं वार्षिकोत्सवसहितको प्रतियोगिता थाइल्यान्डमा हुन सक्ने घोषणा गरेको थियो । भेटघाटमा मिस नेपाल वर्ल्डको आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारसहित मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडालगायत उपस्थित थिए । मन्त्री भट्टराईले मिस वर्ल्ड आयोजना गर्दैगर्दा नेपालले पनि सगरमाथा, लुम्बिनीलगायत विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा संसारलाई सन्देश दिन सक्ने भएको भन्दै कार्यक्रम गर्न तत्परता देखाएका थिए ।
मिस नेपाल अनुष्काले २०७२ को भूकम्पपछि विस्थापित भएको यसै सोलसिङ गाउँका बासिन्दाको कठिन दैनिकी र पढ्न नपाएका केटाकेटीको अवस्थालाई लिएर तयार पारेको भिडियोले ‘ब्युटी विथ अ पर्पस’ को टाइटल जितेको थियो । मिस वर्ल्डले सोही क्षेत्रको भ्रमण गरेकी छिन् । साथै मकवानपुरको चेपाङ बस्तीको पनि भ्रमण गर्नेछिन् । २०१८ को मिस वर्ल्डमा नेपालकी शृंखलाले पनि चेपाङ बस्तीमै आधारित रही तयार पारेको भिडियोले ‘ब्युटी विथ अ पर्पस’ जितेको थियो ।








