अलविदा सुभद्रा

फिल्म । सफल कलाकार सुभद्रा अधिकारीको हिजो शनिवार निजि निवास डल्लुमा निधन भयो । लामो समयदेखि निमोनिया रोगले ग्रस्त उनको साँझमा पशुपति स्थित आर्यघाटमा अन्तिम संस्कार गरियो । उनको ७२ बर्षको उमेरमा निधन भएको हो । उनको पशुपति आर्यघाटमा रहेको विद्युतिय शव गृहमा उनको दाहासंकार गरियो । अधिकारीले आँखा दान समेत गरेको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

सुभद्रा अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली फिल्मी क्षेत्रका केही कलाकार पशुपति आर्यघाट पुगेका थिए । साथै, पर्यटन मन्त्री योगेश भट्टराई पनि पशुपति आर्यघाट पुगे । उनले नेपाली कला क्षेत्रमा सुभद्रा अधिकारीको योगदान अतुलनिय रहेको बताए । सुभद्रालाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली फिल्मी क्षेत्रकी प्रथम नायिका भूवन चन्द, चैत्यदेवी, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, रेखा थापा लगायत पशुपति आर्यघाट पुगेका थिए । यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र कलाकार संघको कार्यसमिती टिम पनि पशुपति आर्यघाट पुगेको थियो ।

सुभद्राले अभिनय गरेका दर्जनौ फिल्म सफल छन् । ‘भाउजु’मा काम गरेपछि उनलाई फिल्मी क्षेत्रकी भाउजु भनेर समेत चिनिएको थियो । उनले अभिनय गरेका ‘काठमाण्डु, मसान, शासन, बाटो मुनिको फुल, किस्मत, दोस्ती, मनको बाँध, बासुदेव, माया प्रिती, बेहुली, पिरती, कन्यादान, चिनो, कस्तुरी, सपना, भाउजु, स्वर्ग, कर्जा’ लगायतका थुप्रै फिल्म सफल छन् । नेपाली कला र नाटकको क्षेत्रमा अतुलनिय योगदान पुर्याएकी चर्चित कलाकारको निधनले यो क्षेत्रलाई ठूलो क्षती भएको छ । सुभद्रा अधिकारीले चलचित्र र नाटक क्षेत्रमा लगाएको गुन यो क्षेत्रले कहिले पनि विर्सने छैन ।

नयाँ पुस्ता डिजिटलको डिजिटल श्रद्धाञ्जली

सुभद्रा नाम नै काफी छ । किनकी पछिल्लो समय यस क्षेत्रमा लाग्ने अधिकांसले उनलाई चिन्छन् । यसको छनक शनिवार पाइयो । उनको निधनको खबर फैलिएसँगै श्रद्धाञ्जली दिनेको ओइरो नै लाग्यो । समाजिक सञ्जालमा हेर्दा उनको निधनले सम्पूर्ण कला क्षेत्रनै मर्माहत भएको भान हुन्थ्यो । तर , उनलाई अन्तिम श्रद्धाञ्जली दिन नयाँ पुस्ताको कम उपस्थिति देखियो । लगभग शुन्यकै अवस्थामा । उनलाई डिजिटल माध्यमबाट श्रद्धाञ्जली दिने १० प्रतिशत बाहेकका कलाकर्मीले आर्यघाटसम्म आउने कष्ट गरेनन् । आफुलाई कलाकारितामै समर्पित गरेकी सुभद्रालाई भावपूर्ण श्रद्धाञ्जली । अलविदा सुभद्रा। …..

कमेन्ट गर्नुहोस्