फिल्म । सन् २०१८ को फेब्रुअरीमा बलिउड चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको थियो । प्रारम्भिक चरणमा उनको मृत्यु हृदयघातको कारण भएको भनिएता पनि पछी बाथमा डुबेर भएको पुष्टीएको थियो । ५४ वर्षीया श्रीदेवी दुबईमा एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन् पुग्दा उनले संसार छाडेकी थिइन् । मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी श्रीदेवीको मृत्यु प्रकरण फेरी चर्चामा आएको छ ।
एक प्रहरी अधिकारीले त्यहाँको पत्रिका केरला कौमादीमा आफ्नो स्तम्भमा यसबारे लेखेका छन् । केरलाका प्रहरी महानिर्देशक (डीजीपी) ऋषिराज सिंहले श्रीदेवीको निधन बाथ ट्युबमा डुबेर नभएको लेखेपछी यतिबेला भारतमा उनको मृत्यु प्रकरण चर्चामा आएको हो । सिंहले श्रीदेवीको हत्या भएको उल्लेख गरेका छन् । ‘श्रीदेवीको मृत्यु बाथट्युबमा डुबेर भएको थिएन, उनको हत्या भएको थियो’ सिंहले लेखेका छन् । आफूले श्रीदेवीको निधनको अनुसन्धानमा खटेका व्यक्ति र मेडिकल टिमसँग गरेको कुराकानीको आधारमा यस्तो दाबी गरेको उल्लेख गरेका हुन् ।
यसमा डाक्टर उमादथनले पनि आफ्नो विचार राख्दै भनेका थिए,‘मानिस जति मात्तिए पनि एक फिट पानीमा डुब्दैन । उ त्यतिबेला डुब्छ जतिबेला उसको दुवै खुट्टा कसैले पक्रिन्छ या उसको शिर टाउकोमा डुबाइदिन्छ।’ प्रहरी महानिर्देशक ऋषिराज सिंहको यस अभिव्यक्तिसँगै श्रीदेवीका पति तथा निर्माता बोनी कपुर भड्किएका छन् ।
‘म यस्ता हावादारी कुरामा प्रतिक्रिया दिन चाहन्न’ उनले भारतीय मिडियालाई भनेका छन् । श्रीदेवीको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल फिल्मबाट काम शुरू गरेकी थिइन् । दक्षिण भारतीय फिल्महरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिउड फिल्म’सोलहवा साल’ बाट अभिनय शुरू गरेकी थिइन् । (एजेन्सी)