देश । बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न राहत सामग्रीसहित उनी मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् ।
सूद आफ्नो ‘सूद च्यारिटी फाउन्डेसन’को टोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । नेपालका बाढीपीडितलाई आश्रय, खाना तथा पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले उनी नेपाल आएको बताइएको छ ।
विमानस्थलमा उनलाई सिख धर्मावलम्बीहरूको अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ‘खाल्सा एड’का प्रतिनिधिले स्वागत गरेका थिए । सूदले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्रीसमेत नेपाल ल्याएका छन् ।
गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। बाढीपछि उनले सामाजिक सञ्जालमार्फत नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। बाढीपछि सामाजिक सञ्जालमा उनले लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौँ।’
सूद पछिल्लो समय सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएका छन्। नेपाल भ्रमणका क्रममा उनले बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने तयारी गरेका छन्।










