देश । चर्चित कन्टेन्ट क्रियटर तथा कलाकार इस्टु कार्कीले काठमाडौंको अनामनगरमा सञ्चालनमा ल्याएको ‘फ्लिप एन्ड इट’ क्याफेको औपचारिक उद्घाटन गरेकी छन् । इस्टुले आफ्नी ८० वर्षीया हजुरआमाको हातबाट केक काटेर क्याफेको उद्घाटन गराएकी हुन् । उद्घाटन कार्यक्रममा अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालालगायतको उपस्थिति थियो ।
करिब ४० लाख रुपैयाँभन्दा बढी लगानीमा सुरु गरिएको ‘फ्लिप एन्ड इट’ इस्टुका लागि कन्टेन्ट क्रियसनभन्दा फरक यात्राको सुरुवात हो । व्यवसाय सञ्चालन गर्नु र त्यसै व्यवसायको भिडिओ बनाउनु फरक अनुभव रहेको उनले उद्घाटनका क्रममा बताइन् ।
‘नयाँ सुरुआत भएको छ, यहाँ कफीसँगै केही स्पेसल खाजाहरू हामीले सर्भ गरिरहेका छौँ । नियमित ग्राहक समेत बनिसक्नुभएको छ, प्राप्त फिडब्याक अनुसार हामी अझैँ परिस्कृत हुँदै अगाडि बढ्ने छौँ’, उनले भनिन् ।
कन्टेन्ट क्रियसनमा सक्रिय इस्टुले पछिल्लो तीन वर्षदेखि निरन्तर भिडिओ निर्माण गर्दै आएकी छन् । नयाँ कुरा सिक्ने, बुझ्ने र आफूलाई नयाँ रूपमा विकास गर्ने चाहनाले व्यवसायमा हात हालेको उनले बताइन् । क्याफे उद्घाटनका क्रममा इस्टुकी हजुरआमाले नातिनीको खुलेर प्रशंसा गरिन् । सानैदेखि इस्टुमा हिम्मत र आँट रहेको बताउँदै उनले नातिनीले नयाँ व्यवसाय सुरु गरेकोमा खुसी व्यक्त गरिन् ।
‘हजुरआमासँग म सानैदेखि नजिक छु, मैले हौसला पाएकी छु । त्यसैले आफ्नो महत्वपूर्ण कार्यको सुरुआत उहाँमार्फत गरेकी हुँ’, उनले भनिन् । रङ्गमञ्च पृष्ठभूमिबाट आएकी इस्टु रमाइला भिडिओ, भ्लग तथा सामाजिक सञ्जालका पोस्टमार्फत परिचित छिन्। कन्टेन्ट क्रियटरका रूपमा आफ्नो छुट्टै पहिचान बनाएकी इस्टुको ‘फ्लिप एन्ड इट’सँगै अब व्यवसायीको परिचय पनि थपिएको छ।











