डली ‘पाँचौँ मिसेस नेपाल युनिभर्स-२०२६’ घोषित

सौन्दर्य । मोडल डली गुरुङ याक्थुम्बा ‘पाँचौँ मिसेस नेपाल युनिभर्स–२०२६’ घोषित भएकी छन् । तेस्रो चरणको कोलोन क्यान्सरलाई पराजित गर्दै पुनः सक्रिय जीवनमा फर्किएकी उनी सामाजिक अभियन्ताका रूपमा पनि परिचित छिन्।

ललितपुरको झम्सिखेलमा आइतबार आयोजित क्राउन सेरेमोनीमा उनलाई आधिकारिक रूपमा विजेताको ताज पहिर्याइएको हो। लन्डन फेसन हाउसद्वारा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य र मिसेस नेपाल युनिभर्सकी राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठले संयुक्त रूपमा ताज हस्तान्तरण गरेका थिए।

डलीले आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स-२०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्नेछिन्। नेपाली विज्ञापन र फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय डली नेपालकै पहिलो टेलिभिजन भिडियो विज्ञापनमा देखिएकी भिजुअल मोडलका रूपमा परिचित छिन्। २०४० र २०५० को दशकमा उनले मोडलिङ क्षेत्रमा उल्लेखनीय योगदान दिएकी थिइन्। तेस्रो चरणको कोलोन क्यान्सरलाई जितेर पुनः सक्रिय जीवनमा फर्किएपछि उनी धेरै महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन्।

राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठले डलीको अनुभव, संघर्षशील व्यक्तित्व र आत्मविश्वासले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई नयाँ उचाइ दिलाउने विश्वास व्यक्त गरिन्।

सम्मान ग्रहणपछि डलीले आफ्नो सफलतामा परिवारको महत्वपूर्ण साथ रहेको बताउँदै विश्वमञ्चमा नेपाली महिलाको क्षमता, आत्मविश्वास र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, क्यान्सरलाई जितेर पाएको दोस्रो जीवनलाई अर्थपूर्ण बनाउने अवसरका रूपमा उनले यो यात्रालाई लिएको बताइन्।

कमेन्ट गर्नुहोस्