फिल्म । नेपाली फिल्म ‘लज्जावती’ को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने सहिमा श्रेष्ठ र रवी ओडको स्वर सुन्न सकिन्छ ।
कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन्। डान्सिङ नम्बरका रूपमा तयार पारिएको गीतको अडियो र भिडियो दुवैले दर्शकको मन जित्ने निर्माण टोलीको विश्वास छ ।
आहा फिल्म्सको ब्यानरमा क्यानी मल्टिभिजन इन्कसँगको सहकार्यमा निर्माण भएको फिल्मको निर्देशन राजबहादुर सानेले गरेका हुन्। फिल्मका प्रस्तुतकर्ता सौरभ ओली हुन् भने कमलप्रसाद शर्मा र सन्दीपकुमार रोका निर्माता तथा दिनेशराज बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।
दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा हरिप्रसाद शिवाकोटी लाइन प्रोड्युसर छन्। क्यानडामा बसोबास गर्दै आएका शिवाकोटी नेपालमा प्रदर्शन हुने मितिमै फिल्मलाई क्यानडामा पनि प्रदर्शन गर्ने लक्ष्यसहित निर्माण टोलीमा आबद्ध भएका हुन्।
फिल्ममा मुकुन भुषाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सीपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारको अभिनय रहेको छ।









