‘काजी’को असारे गीतमा विपिनसँग गरिमा

फिल्म । गत जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनरत फिल्म ‘काजी’को असारे गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’ मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, संदीप बाबु लोहनीलगायत कलाकारलाई देख्न सकिन्छ । रोपाइँको सेटअपमा तयार पारिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी आकर्षक बनेको छ । गीतको अडियो पनि उत्कृष्ट बनेको छ ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘काजी’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेपछि अभिनेता विपिन कार्की प्रचारप्रसारमा सक्रिय देखिएका छन् । उनी विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म रामप्रसाद रिजालको प्रस्तुति हो । फिल्मले ग्रामीण परिवेशको भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारेको निर्माण टिमको दाबी छ । फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् ।

असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सागर अर्यालको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत, प्रकाश हमालको प्रोडक्सन हेड, विपीन मल्लको सम्पादन तथा बनिश शाहको सुपरभाइजर सम्पादन रहेको छ । प्रदीप भारद्वाजको कथा लेखन रहेको फिल्मका निर्मातामा नेहान रिजाल र विकासराज जोशी रहेका छन् ।

कमेन्ट गर्नुहोस्