फिल्म । चैत २७ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । सोमबारसम्म फिल्मले करिब रु ३ करोड २० लाख ग्रस कलेक्सन गरेको वितरकले जानकारी दिएका छन् । शनिबारसम्म फिल्म विकास बोर्डको तथ्याङ्कमा फिल्मको कमाइ करिब रु २ करोड ८० लाख रहेको थियो ।
निर्माता उपेन्द्र शाहीका अनुसार फिल्मले अमेरिकाबाहेक अन्य विदेशी बजारबाट करिब रु ७० लाख आम्दानी गरिसकेको छ । अमेरिकाका विभिन्न सहरमा अप्रिल २४ देखि फिल्म २०० शोसहित प्रदर्शनमा आउने तयारीमा छ । निर्माण पक्षले अमेरिकामा फिल्मलाई सेयर प्रतिशतका आधारमा विक्री गरेको जनाएको छ ।
निर्देशक माइकल चन्दका अनुसार डिजिटल अधिकारबापत फिल्मले ओएसआर डिजिटलबाट रु ७२ लाख प्राप्त गरेको छ । डिजिटल राइट्सबाट प्राप्त आम्दानीले पनि निर्माण पक्षलाई फाइदा पुगेको उनले बताए । करिब रु ३ करोड बजेटमा निर्माण भएको फिल्म अब लगानी सुरक्षित हुने चरणमा पुगेको निर्देशक चन्दको भनाइ छ ।
स्वेता विमली र उपेन्द्र शाहीको निर्माणमा तयार भएको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, खुसी कार्की, सुनिल थापा र प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मको व्यापारबाट निर्माण पक्ष उत्साहित देखिएको छ । पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरूले अपेक्षाकृत व्यापार गर्न नसकेको अवस्थामा ‘राम नाम सत्य’ले भने बक्स अफिसमा सकारात्मक संकेत देखाएको छ ।











