फिल्म । नेपाली फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ कार्तिक २१ गते शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउँदैछ । यसअघि २०८० मा रिलिज भएको ‘जारी’को सिक्वेल यो फिल्मको निर्माण टिमले साउण्ड लेभलका बारेमा सिनेमाघर सञ्चालकहरूलाई विशेष सूचना जारी गरेको छ । बिहीबार सार्वजनिक विज्ञप्तिमा व्यावसायिक प्रदर्शनअघि एक पटक टेस्ट रन गर्न अनुरोध गरिएको छ ।
निर्माण युनिटले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘हामीले फिल्म “जारी २”को साउण्ड मिक्सिङ इमर्सिभ साउण्ड फर्म्याटमा सम्पन्न गरेका छौं, जसका कारण दर्शकहरूले यो फिल्मलाई डल्बी एटमस, डिटिएस:एक्स र अरो म्याक्स प्रणालीमा साउण्ड अनुभवका साथ हेर्न सक्नेछन् ।’ यो मिक्सिङ डल्बीको फेडर युनिट ५.८ मा गरिएको हो । देशभरका सिनेमाघरहरूमा साउण्ड प्रेसर लेभल (एसपीएल) फरक–फरक हुने भएकाले प्रदर्शन सुरु गर्नुअघि टेस्ट रन आवश्यक रहेको निर्माण पक्षले बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अघिल्ला फिल्म प्रदर्शनका क्रममा हलहरूमा फिल्म प्रोसेसर युनिट ३, ३.५, ४ वा ४.५ फरक–फरक अडियो लेभलमा प्रदर्शन हुन्छ, जसले एउटै फिल्मको साउण्ड फरक–फरक सुनिने अवस्था सिर्जना गर्छ । यसले फिल्म हलको प्रणाली मापदण्डअनुसार क्यालिब्रेट भएको छ कि छैन भन्ने यकिन गर्न कठिन बनाउँछ ।’डल्बी मापदण्डअनुसार फिल्मको मिक्सिङ फेडर युनिट ७ मा गरिएमा हलमा पनि त्यही लेभलमा प्रदर्शन गर्नुपर्ने उल्लेख गर्दै केही हलहरूले भोल्युम घटाउने प्रचलनका कारण साउण्ड डिस्टोर्सन र क्वालिटी हानि हुने जनाइएको छ । यो अभ्यास गलत भएको निर्माण पक्षको भनाइ छ ।
‘यी सबै कुरालाई ध्यानमा राख्दै हामीले फिल्म “जारी २”लाई डल्बी फेडर युनिट ५.८ मा मिक्सिङ गरेका छौं । त्यसैले सबै सिनेमाघरहरूलाई अनुरोध छ, फिल्म प्रदर्शनअघि न्यूनतम भोल्युम युनिट ५ बाट टेस्ट रन गर्नुहोस् र साउण्ड स्तर कम–बढी लागेमा त्यहीअनुसार साउण्ड लेभल सेट गरिदिनुहुन् विनम्र अनुरोध गर्दछौं । यदि हाम्रो फिल्मलाई ३, ३.५ वा ४ युनिटमा चलाइएमा साउण्ड सानो सुनिन सक्छ,’ विज्ञप्तिमा थपिएको छ ।
निर्माण पक्षले दर्शकले राम्रो साउण्ड अनुभवका साथ फिल्म हेर्न सकून् भन्ने उद्देश्य रहेको बताउँदै प्राविधिक सहयोग र समन्वयका लागि हार्दिक अनुरोध गरेको छ । भविष्यका फिल्महरूमा फेडर युनिट ७ मा मिक्सिङ गरी उत्कृष्ट अनुभव दिने कोसिस गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।यसैबीच, बिहीबार नै फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ सेन्सर पास भएको छ ।
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको यो फिल्मलाई सबै उमेर समूहका दर्शकले सहजै हेर्न पाउनेछन् । सेन्सर पदाधिकारीहरूले लिम्बू समुदायको कथामा बनेको यो फिल्मलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यो फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन् भने बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको यो फिल्म यस वर्षको व्यापारिक सफलताको अपेक्षित फिल्म मानिएको छ ।









