फिल्म । देशभरका हलमा प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ले आक्रामक व्यापार गरिरहेको छ । फिल्मले दर्शक माया पाएसँगै यसका कलाकारको कामको चर्चा पनि सुरू भएको छ । फिल्ममा अभिनेत्री आँचल शर्माले निर्वाह गरेको ‘श्रेया’ लाई फिल्म हेर्ने दर्शकले तारिफ गर्न थालेका छन् । फिल्ममा अनमोल केसीको ‘जेरी’ प्रतिको एकतर्फी प्रेम गर्ने श्रेयाको कथा मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।
आँचलले श्रेयाको समर्पण, पीडा र प्रेमको गहिराइलाई यति जीवन्त बनाएकी छन् कि दर्शकको मन छोएको छ । सामाजिक सञ्जालमा दर्शकहरूले लेखेका उनको सुन्दरता, आत्मनिर्भरता र समर्पणको प्रसंसा गरेका छन् । समीक्षकहरूले पनि आँचलको अभिनयलाई फिल्मको आत्मा मानेका छन् ।
दर्शकको प्रतिक्रियासँगै फिल्मले व्यापारिक रूपमा पनि उत्साहजनक प्रदर्शन गरिरहेको छ । ‘जेरी अन टप’ले नायक-नायिकाको प्रेमभन्दा गहिरो मानवीय भावना र त्यागको कथालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । ‘श्रेया’को रूपमा आँचलले हलमा दर्शकका आँखा रसाएकी छन् ।
चलचित्र विकास बोर्डको ‘बक्सअफिस @ सिनेमा’का अनुसार यो फिल्मले प्रदर्शनको पहिलो तीन दिनमा २ करोड २२ लाख ८१ हजार ६ सय ९८ रुपैयाँको ग्रस कलेक्सन गरेको छ । फिल्ममा अनमोल केसीसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारको अभिनय रहेको छ।
सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्।फिल्मको कथा हेमराज विसीले लेखेका हुन् भने विश्वास तिम्सिनाले पटकथा र दुलिप रेग्मीले छायांकन गरेका छन् । ‘जेरी अन टप’लाई रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेका छन् ।











