फिल्म । आगामी शुक्रबार भदै २० देखि प्रदर्शन हुने फिल्म ‘रिमै’ को बुधवार साँझ आयोजित प्रिमियरमा प्रसंशा भएको छ । गुरुङ समुदायको कला र संस्कृतिलाई देखाईएको फिल्मलाई निम्तालुले तारिफ गरेका छन् । गुरुङ संस्कृति बुझ्ने दस्तावेजको रुपमा तयार भएको फिल्म हेर्नेले यसलाई तारिफ गरेका छन् ।
गुरुङ संस्कृति बुझ्न गैर गुरुङलाई पनि उपयोगी फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कविता आले, गौमाया गुरुङ, अर्पण थापा लगायतको अभिनय रहेको छ । गुरुङ समुदायको सांस्कृतिक झाँकी प्रस्तुत गरेर सुरू भएको प्रिमियर हेरेपछि निम्तालु अतिथिले फिल्म युनिटलाई बधाई दिएका थिए ।
खिलबहादुर गुरुङद्वारा निर्देशित यो फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । फिल्ममा वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङ, साथै बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।
फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकन शैलेन्द्रध्वज कार्कीले गरेका छन् । वीरवल घले कार्यकारी निर्माता रहेको यो फिल्ममा टीका गुरुङ, जितयात्री गुरुङ र दुनबहादुर घले निर्माता छन् । बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको भूमिकामा छन् । ‘रिमै’ शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउने भएको छ । यसको अग्रिम टिकट खरिद तथा बुकीङको सुविधा प्रदर्शकले दिईसकेका छन् ।











