फिल्म । साइकोलोजिकल थ्रिलर जनराको फिल्म ‘द ब्लू लाइट’ को पहिलो झलक र पोस्टर सार्वजनिक गरिएको छ। अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसरमा निर्माण पक्षले यो झलक र पोस्टर रिलिज गरेको हो । मङ्सिर १२ गते प्रदर्शन हुने यो फिल्मको टिजरले मनोवैज्ञानिक तनावमा रहेका पात्रहरूलाई प्रस्तुत गर्छ ।
टिजरमा बुवाको मृत्युको सपना देखेर डराइरहेकी छोरी र उनको डर हटाउन खोज्ने बुवाबाट कथा सुरु हुन्छ । बुवाले छोरीलाई ‘सपनामा मरेको देखिएको मान्छेको आयु लामो हुन्छ’ भन्दै सम्झाउँछन् । त्यसपछि, कमजोर महसुस गरेर हतियार बोकेर हिँडिरहेकी युवती र चाल सुनिरहेकी अर्की युवतीबीचको डर र त्यसलाई हटाउने प्रयासले दर्शकलाई तर्साउँछ । यो झलकले फिल्म साइकोलोजिकल थ्रिलर भएको पुष्टि गर्छ ।
पहिलो झलकमा निलो पृष्ठभूमिमा मुख्य तीन कलाकार बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ प्रस्तुत छन् । तीनै जना तनावपूर्ण भावमा देखिन्छन् । सृष्टिको हातमा रगतले लतपतिएको बन्चरो छ, जसले उनले भर्खरै कसैमाथि प्रहार गरेको अनुमान गराउँछ । फिल्मलाई बलिराम चौहानले निर्देशन गरेका छन्, जसले ‘बलिदान’ फिल्मको लेखन र मुख्य सहायक निर्देशन गरेका थिए ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बालकलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् । निर्माण पक्षले कथा र कलाकारको भूमिकाबारे विस्तृत खुलासा गरेको छैन । निर्देशक चौहानले बिस्तारै खुलाउँदै जाने बताएका छन् । बलिराम चौहान (ग्याट्स्वी) निर्माता रहेको फिल्मका सह-निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् । कार्यकारी निर्मातामा नरेन्द्र मैनाली र बेनिशा हमाल छन् । छायांकन मैनालीकै हो ।आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक छन् ।











