‘कोशेढुंगा’ अब पोस्ट प्रोडक्सनमा

फिल्म । निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ को छायांकन सकिएको छ । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ बाट चर्चामा आएका निर्देशक पौडेलले सोमबार ५१ दिनमा छायांकन सकेका हुन् । निर्माणपक्षले फिल्मको रिलिज मिति घोषणा गरिसकेको छ । ‘कोशेढुंगा’ भदौ १२ गते नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदैछ । प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा यसको वितरण गर्दैछ ।

पहिलो पटक यति धेरै देशमा एकसाथ फिल्म प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ । निर्माण घोषणादेखि नै दर्शकमाझ उत्सुकता र अपेक्षा दुवै बढाएको फिल्म ‘कोशेढुंगा’को निर्माणपक्षले छायांकनकै क्रममा फर्स्टलुक्स पोस्टरका रुपमा मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड तस्बिर सार्वजनिक गरेको थियो ।

फिल्मको कथा र छायांकनमा भएको मेहनतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्म ‘कोशेढुंगा’ मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

फिल्मका निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरेको यो फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ ।

कमेन्ट गर्नुहोस्