राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको रोपाइँ उत्सवमा कलाकार सहभागी

सङ्गीत । २२औँ राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले गोकर्णेश्वर नगरपालिका–७, शिवचोकको फाँटमा आयोजना गरेको रोपाइँ उत्सव भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा थुप्रै कलाकारहरूले सांस्कृतिक प्रस्तुति र धान रोपाइँमा सहभागिता जनाएर उत्सवलाई रमाइलो बनाए । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले नेपाली संस्कृति र पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरे ।

‘कृषिमा आत्मनिर्भरता हासिल गर्न कृषकहरूको मुख्य भूमिका हुन्छ’, उनले भनिन् ,‘हामी सबैले कृषिलाई प्राथमिकता दिनुपर्छ ।’ कार्यक्रममा वरिष्ठ गायक, सङ्गीतकार तथा फिल्म निर्देशक नारायण रायमाझी, बद्री पङ्गेनी, नवीन पौडेल, मञ्जु पौडेल, सरोज लामिछाने, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर, मोडल एलिजा गौतम, सन्जु न्यौपाने, बालगायिका आयुशा गौतमलगायतको उपस्थिति थियो।

उक्त अवसरमा घाँसे गीतका ज्ञाता शिवनारायण जोशी र नारायण रायमाझीलाई सम्मान गरिएको थियो। राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले हरेक वर्ष असार १५ मा रोपाइँ उत्सव आयोजना गरिँदै आएको बताए ।

कमेन्ट गर्नुहोस्