फिल्म । बादशाह शाहरुख खान आगामी एक्सन थ्रिलर फिल्म ‘किङ्ग’ का कारण फेरि चर्चाको शिखरमा छन् । सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको यो फिल्मको स्टारकास्टले पहिल्यैदेखि दर्शकको ध्यान खिचेको छ । फिल्ममा शाहरुखसँगै रानी मुखर्जी, दीपिका पादुकोण, सुहाना खान र अभिषेक बच्चन मुख्य भूमिकामा देखिँदैछन् ।
भारतीय मिडियाका अनुसार रानीले फिल्ममा लामो ‘केमियो’ भूमिका निभाउँदैछिन्, जहाँ उनी शाहरुखकी छोरी सुहाना खानको आमाको चरित्रमा देखिनेछिन् । रानी र शाहरुखले यसअघि ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’ जस्ता हिट फिल्ममा सँगै काम गरिसकेका छन् । लामो समयपछि यो जोडीको एक्सन थ्रिलरमा पुनर्मिलनले फ्यानहरू उत्साहित छन् । यद्यपि, पहिले सुहानाको आमाको भूमिकामा दीपिका देखिन सक्ने चर्चा थियो ।
फिल्ममा शाहरुख एक हत्याराको भूमिकामा देखिँदैछन्, जबकि दीपिका र अभिषेक बच्चन नकारात्मक चरित्रमा प्रस्तुत हुनेछन् । ‘किङ्ग’ को छायांकन यही मे २० देखि मुम्बईमा शुरू हुँदै छ र त्यसपछि युरोपका विभिन्न स्थानमा सुटिङ हुने बताइएको छ ।
निर्माताहरूले यो फिल्म सन् २०२६ को अक्टोबर-डिसेम्बरमा रिलिज गर्ने योजना बनाएका छन् । शाहरुखको दमदार अभिनय, सिद्धार्थ आनन्दको निर्देशकीय जादु र बलियो स्टारकास्टका कारण ‘किङ्ग’ अहिलेदेखि नै बक्स अफिसमा तहल्का मच्चाउने अनुमान गरिएको छ ।












