वर्षको अन्त्यमा चलायमान भयो घरेलु बजार

फिल्म । वर्षको अन्त्यमा पनि नेपाली फिल्मलाई दर्शकले साथ् दिएका छन् । घरेलु बजारमा भएको व्यापार हेर्ने हो भने स्टार र चलेका ब्यानर हैन, दर्शकले नयाँ अनुहार र सीमान्त कथालाई रुचाएको देखिन्छ । मिलन चाम्स निर्देशित फिल्म ‘ अञ्जिला’ ले २० दिनसम्म (फागुन २९ मा रिलिज भएको)ले मंगलबारसम्म देशव्यापी ६ करोड ४५ लाख ग्रस कमाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको बक्सअफिसमा उल्लेख छ ।

नयाँ अनुहार र डेब्यु निर्देशकको फिल्म ‘होस्टेल ३’ प्रदर्शनको २६ दिन मंगलबारसम्म (फागुन २३ मा रिलिज भएको) देशव्यापी ४ करोड ४ लाख रुपैयाँ र कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’ ले प्रदर्शनको ३५ दिन मंगलबारसम्म देशव्यापी ४ करोड २२ लाख रुपैयाँ ग्रस कमाइ गरेको मन्त्रालयको बक्सअफिसमा उल्लेख छ । यी तीनैवटा फिल्म अहिले पनि प्रदर्शनरत छन् ।

सर्वकालीन हिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ पछि हिट भएका उल्लेखित तीन फिल्म हुन् । चैत ८ मा प्रदर्शन भएको फिल्म ‘द्रौपदी’ १० लाख हाराहारी र ‘११:५५’ ले ५ लाख हाराहारीमा व्यापार गरेका छन् । यो फिल्मको ग्रस कलेक्सन हो ।

कमेन्ट गर्नुहोस्